आज गुरुनानक जयन्ती मनाइँदै

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज शुक्रबार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालगन्जमा पनि शिख धर्मावलम्वीहरूले गुरुनानक जयन्ती धार्मिक कार्यक्रमको आयोजना गरी मनाउँदै आएका छन् । विपीचोक नजिक रहेको गुरुद्वारामा आज शिख धर्मावलम्वीहरूको भेला भई गुरुनानकको प्रवचन गर्ने, प्रसाद वितरण गर्ने गर्दछन् ।

गुरु नानकको जन्म विसं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका हुन् । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्ने गुरु नानक हुन् ।

यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’को थालनी गरेका थिए ।

निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान छन्, यही नै सत्य हो’ भन्नेमा उनी विश्वास गर्थे ।

Exit mobile version