आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ताको सयम तोकिएको छ । आज बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत कोसी प्रदेशमा एक गाउँपालिकाको अध्यक्षसहित आठ पदका लागि उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका साथै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३, झापाको कन्काई नगरपालिका–६, तेह्रथुमको लालीगुँरास नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र उदयपुरको बेलका नगरपालिका–९ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । आयोगका अनुसार ओखलढुङ्गा जिल्ला समन्वय समितिको प्रमुखमा पनि उपनिर्वाचन हुँदैछ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलहरूलाई उम्मेदवारीका लागि छुट्टाछुट्टै समय निर्धारण गरेको छ । शुक्रबार विभिन्न राजनीतिक दलसहितको सर्वदलीय छलफलको निर्णयअनुसार दलहरूलाई उम्मेदवारी दर्ता गर्न छुट्टाछुट्टै समय दिइएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने समय दिइएको छ । त्यस्तै, नेपाली कांग्रेसले २ बजे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई २ः३० बजे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १२ बजे र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ११ बजे उम्मेदवारी दर्ता गर्नका लागि समय निर्धारण गरिएको अकिकृत पौडेलले बताउनुभयो । जनमत पार्टीलाई बिहान १०ः३० बजे, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई दिउँसो ३ बजे, नागरिक उन्मुक्ति पार्टीलाई ११ः३० बजे, मङ्गोल नेशनल अगनाइजेसनलाई १२ः३० बजे र समावेशी समाजवादी पार्टीलाई अपरान्ह् ४ बजे उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको छ । सहायक निर्वाचन अधिकृत पौडेलका अनुसार सर्वदलीय छलफलमा सहभागी राजनीतिक दलका लागि समय निर्धारण गरिएको र अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले निर्धारण गरिएको बाहेकको समयमा उम्मेदवारी दर्ता गर्न सक्नेछन् । ग्रामथानको अध्यक्ष पदका लागि एमालेका तुलसीराम विश्वास, नेपाली कांग्रेसका बलराम सरदार, नेकपा (माओवादी केन्द्र)का नमोनारायण माझी, नेकपा (एस)का दिलबहादुर विश्वकर्मा र राप्रपाका दिवेश थान्दारको नाम सम्बन्धित राजनीतिक दलले यसअघि उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य दलहरूले आजै उम्मेदवारी घोषणा गर्दै दर्ता गर्ने कार्यक्रम रहेको छ । ग्रामथानको उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन् । गत असार ३ गते ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि मङ्सिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
स्थानीय तहको उपनिर्वाचनः मनोनय दर्ताको समय निर्धारण
- Dainik Nepalgunj

- Categories: News
Related Content
एआइलाई सिकाइँदै थारुभाषा
by
Dainik Nepalgunj
September 26, 2026
बर्षाले जनजीवन प्रभावित
by
Dainik Nepalgunj
September 26, 2026
किसानलाई सतर्क रहन आग्रह
by
Dainik Nepalgunj
September 26, 2026
फुटसल : पहिलो दिन तीन टोली विजयी
by
Dainik Nepalgunj
September 26, 2026
प्रथम केशव श्रेष्ठ स्मृति कप तेक्वान्दो प्रतियोगिता असोज १० र ११ गते नेपालगञ्जमा
by
Dainik Nepalgunj
September 25, 2026