देशमा आजः ८ बजे ८ खबर

  1. प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् ।
  2. सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप १५ दिनको म्याद दिएको छ ।
  3. राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन् । निर्वाचनलाई सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका हुन् ।
  4. काठमाडौं महानगरले गत शुक्रबार दरबारमार्गको सभाका क्रममा फोहोर गरेको भन्दै लगाएको जरिवानाको पत्र एमालेले बुझ्न अस्वीकार गरेको छ । महानगरपालिकाले एमालेलाई फोहोर गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो ।
  5. कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनयन गरेका छन् । कांग्रेस केन्द्रीय समिति सदस्य रहेका श्रेष्ठलाई देउवाले पार्टी विधानको धारा २१ को उपधार ४ बमोजिम नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा छ ।
  6. आउँदो मंसिर १२ गतेबाट काठमाडौंमा छैटौं एशियाली जनसंख्या सम्मेलन हुने भएको छ । नेपालको जनसंख्या नीति निर्माणमा महत्वपूर्ण योगदान गर्ने विश्वास सम्मेलनमा एशिया,अमेरिका,अष्ट्रेलिया लगायतका देशका जनसंख्याविद्धहरुको सहभागिता रहने छ ।
  7. स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका छन् । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई १ लाख रुपैयाँ दिने गरिएको थियो ।
  8. सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश जारी गरेको छ । प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश डा. मनोज शर्माको इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
Exit mobile version