निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नेपालगन्जको नगर अध्यक्षमा मान बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
नेपालगन्जमा बिहीबार भएको सातौं बार्षिक साधारणसभा एवम् तेस्रो नगर अधिवेशनबाट सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
नगर उपाध्यक्षमा हेमन्तराज काफ्ले, सचिव विज्ञान शाह, सहसचिव संजिवकुमार गुरुङ, कोषाध्यक्ष मनोहर चन्द र सह–कोषाध्यक्षमा पवन गौतम निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरूमा चेतलाल गिरी, सुशील कुमार बर्मा, ध्रुबराज गौतम र नमराज शर्मा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
‘सहकार्य गरेर अगाडि बढिरहेका छौं’
नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले निजी विद्यालयहरूसँग सहकार्य गरेरस अगाडि बढिरहेको बताएका छन् ।
बिहीबार नेपालगन्जमा आयोजित प्याब्सन नेपालगन्ज उपमहानगर समितिको सातौं बार्षिक साधारणसभा तथा तेस्रो नगर अधिवेशन उद्घाटनमा बोल्दै नगर प्रमुख विष्टले भने, ‘फिसको सन्दर्भ होस् वा छात्रवृत्ति ती सबै विषयमा यहाँहरूको उत्तिकै सहयोग चाहिन्छ ।’ उनले नेपालगन्ज उपमहानगरपालिकालाई निजी विद्यालय प्रति हुने टिकाटिप्पणीले ठेस लाग्ने आशय व्यक्त गरेका थिए ।
अधिवेशनलाई सम्बोधन गर्दै प्याब्सन केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले सर्वोच्च अदालतबाट विद्यार्थीहरू बीच विभेद नगर्न आदेश भएपछि त्यसको कार्यान्वयनका लागि छात्रवृत्ति ऐन परिमार्जन आवश्यक रहेको बताए । उनले त्यसका लागि निरन्तर प्रयासरत् रहेको जानकारी दिए । उपाध्यक्ष श्रेष्ठले अभिभावक, विद्यार्थी र शिक्षकबीच प्रदेशस्तरीय अन्तरक्रियात्मक कार्यशाला गर्ने योजनामा रहेको बताए । उनले डिजिटल प्याब्सन बनाउने अभियानमा लागेको बताउँदै सबै विद्यालयलाई त्यसमा जोडिन आह्वान गरे ।
नगर अध्यक्ष विकास बज्राचार्यको अध्यक्षतामा भएको उद्घाटन सत्रमा हिसान केन्द्रीय उपाध्यक्ष ईश्वर पोखरेल, प्याब्सनका लुम्बिनी प्रदेश बरिष्ठ उपाध्यक्ष ऋषिकेश जिसी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, प्याब्सन जिल्ला अध्यक्ष यम रावत, प्याब्सन जिल्ला प्रमुख सल्लाहकार राजेन्द्र आचार्य, शिक्षक महासंघ नगर अध्यक्ष सुमोद रिजाल लगायतले बोलेका थिए ।
नगर उपाध्यक्ष नरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन सचिव मान बहादुर थापाले गरेका थिए । कार्यक्रम बीच शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई सम्मान पनि गरिएको थियो ।