‘एक वर्षभित्रै नेपालगन्जको विद्युत समस्या समाधान’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक वर्षभित्रै नेपालगन्जको विद्युत समस्या समाधान हुने बताएका छन् । विहीवार नेपालगन्जको एउटा कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले त्यसका लागि दीर्घकालीन र अल्पकालीन कार्ययोजना अनुसार काम भइरहेको दावी गरे ।

‘नेपालगन्जका लागि फोकस गरेर ४० अर्बका विभिन्न योजनाहरू बनाइएको छ,’ तत्कालिन, मध्यकालीन र दीर्घकालीन रूपमा योजना बनाएर समस्या समाधान गर्ने गरी काम भइरहेको दावी गर्दै घिसिङले भने, ‘तत्कालिन रुपमा जानकी सवस्टेशन तयार गरि भारतको नानपारासँग लिंक गरेर विद्युतको सहज आपूर्ति व्यवस्थापन गरिंदैछ ।’ ‘त्यससँगै वैकल्पिक उर्जाको माध्यमबाट पनि आपूर्ति सहजीकरणमा प्रयास भइरहेको’ उनको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणले नेपालगन्जलाई पश्चिमको ठूलो लोड सेन्टर बनाउन आधा दर्जन बढी योजना अघि सारेको तर्क उनको छ ।

३३ केभीमा सुधार गर्न नेपालगन्जदेखि भारतको नानपारासम्म डबल सर्किट ट्रान्समिटरको काम भइरहेको जानकारी दिंदै घिसिङले बाँकेमा सोलारबाट ७६ मेघावाट विद्युत निकाल्ने तयारी सुनाए । ‘भेरी–बबई डाइभर्सनको ४८ मेघावाट विद्युतलाई पनि नेपालगन्जको भोल्टेज बुस्ट र सप्लाइमा जोड्नेछ,’ गण्डक–नेपालगन्ज २२० केभी लाइनको काम पनि धमाधम भइरहेको जानकारी दिंदै उनले भने ।

क्रियटिभ ह्यान्ड्स र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले नेपालगन्जमा आयोजना गरिरहेको ‘नेपालगन्ज कन्क्लेभ’को एउटा सत्रमा वक्ताका आमन्त्रित उद्योगी व्यवसायी तथा सहभागीहरुले प्राधिकरणको सेवा प्रभावलाई गुणस्तरिय बनाउन ध्यानाकर्षण गराएका थिए ।

‘देशले गर्छ विद्युत निर्यात, नेपालगन्जले भोग्छ ऊर्जा सङ्कट’ विषयक सत्रका स्रोत व्यक्ति, केएल दुगड समूहका महानिर्देशक प्रदीप छाजेड, टिप्पणीकर्ताका रुपमा रहेका शिखर ग्रुपका प्रमुख चम्पालाल बोथराले विद्युत आपूर्तिको अनियमितताले उद्योगधन्दा चौपट भएको बताए । ‘उद्योगहरु पलायनको अवस्थामा छन्,’ घिसिङको ध्यानाकर्षण गराउँदै उद्योगपतिले भने ।

‘देशले लोड सेडिङ मुक्त छ सन्देश दिएको छ, विद्युत निर्यात थालेको छ, तर नेपालगन्जमा पटक–पटक जाने विद्युत सेवाले यहाँका उद्योगको उत्पादनमा गम्भीर असर परिरहेको छ’ महाप्रबन्धक छाजेडले भने, ‘विद्युतको भोल्टेज घटबढ हुँदा विद्युतीय रुपमा गरिने प्याकिङको तौलमा पनि मात्रा तलमाथि हुन्छ । यसको जिम्मेवारी कसले लिने ?’ उनले उद्योगीमैत्री विद्युतसेवाको अपेक्षा गरिरहँदा घिसिङले सुधार हुँदै गएको र थप स्तरिय सेवा प्रवाहमा प्राधिकरण केन्द्रीत भइरहेको बताए ।

उद्योगपति बोथराले पनि बाँकेका उद्योगलाई कहिल्यै नजाने गरी विद्युतको सप्लाइ भए अझ ठूला–ठूला उद्योग खोल्ने सम्भावना रहेको उदाहरणसहित बताएका थिए ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ठाउँठाउँमा सबस्टेशन तथा १३२ केभीको लाइनलाई छिटोभन्दा छिटो बनाएर नेपालगन्जको समस्या समाधान गर्न प्राधिकरण लागिपरेको बताए ।

नेपालगन्जमार्फत कर्णालीसम्म विद्युत प्रशारण हुने भएकाले नेपालगन्ज केन्द्र हुनेगरि हुलाकी राजमार्गको छेउ हँुदै २२० केभी ट्रान्समिसन लाइन नेपालगन्जसम्म बन्ने योजना घिसिङले सुनाए । तत्कालका लागि भने नानपारासम्म ट्रान्समिसन लाइन जोडेर यहाँको भोल्टेज र सप्लाई सिस्टमलाई बलियो बनाउन लागेको जानकारी उनले दिए ।’

मुलुकका विभिन्न विद्युत योजनासहित प्रस्तुत भएका घिसिङले बुटवलदेखि ४०० केभी लाइन अत्तरियासम्म विस्तार गर्न लागेको र यो काम सम्पन्न भएपछि नेपालगन्जको समस्यालाई स्थायी रुपमै समाधान गर्न थप सजिलो हुने उनले बताए ।

‘बुटवलदेखि ४०० केभी प्रशारण लाइन अत्तरियासम्म बढाउँदै छौ, पहिलो चरणको काम बुटवल–लमहीसम्मको हुनेछ, केही दिनमा त्यसका लागि टेन्डर हँुदैछ,’ कार्यक्रमका सहजकर्ता झलक गैरेको प्रश्नमा घिसिङले भने, ‘लमहीमा सबस्टसेन बनाएपछि यतालाई सहज हुनेछ, यसको डिटेल डिजाइन सकिसकेको छ, यो लाइन नेपालगन्जसम्म आएपछि विद्युत आपूर्ति समस्या स्थायी रुपमै समाधान हुन्छ ।’

नेपाल युवा उद्यमी मञ्चका राष्ट्रिय अध्यक्ष कुशलसुन्दर श्रेष्ठले प्राधिकरणका योजना कार्यान्वयनमा लाग्ने समयसम्मका लागि वैकल्पिक उर्जा सोलारमार्फत नेपालगन्जको उर्जा संकट न्यूनिकरणमा तीनै तहको सरकारले सहयोग गर्नसक्नेगरि व्यवस्था मिलाउनुपर्ने बताए । श्रेष्ठले नेपालगन्जले भोगेको उर्जा संकटको विकल्पमा सौर्य उर्जा भएको बताए ।

आज शुक्रवारसम्म चल्ने कन्क्लेभमा शिक्षा, राजनीति, साहित्य, जलवायु, ऊर्जा, पर्यटन, अर्थ र खेलकुद गरी आठवटा विषयमा विषयगत विज्ञसंग प्यानल छलफल भइरहेका छन् । नेपालगन्जलाई राष्ट्रिय तथा स्थानीय मुद्दाको विमर्श गर्ने थलोका रूपमा विकास गर्ने सोचले २०७३ सालदेखि निरन्तर यस प्रकारका डिस्कोर्स सुरु गरिएको आयोजकले बताएका छन् ।

नेपालगन्ज म्याराथनको दशौं संस्करणको पूर्वसन्ध्यामा कन्क्लेभको यो संस्करण आयोजना गरिएको हो ।

लाइन अण्डर ग्राउण्ड गरौंः नगर प्रमुख विष्ट

नेपालगन्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपालगन्जमा नमूनाकै रुपमा भएपनि विद्युत तार अण्डरग्राउण्ड गर्न आग्रह गरेका छन् ।

प्राधिकरणले सेवाभन्दा अब व्यापार गरिरहेको भन्दै नेपालगन्जमा कम्तिमा ८–१० किलोमिटर भएपनि विद्युत तार भूमिगत गरि पोल विस्थापित गर्न आग्रह गर्दै भने, ‘अब समय अनुरुप प्राधिकरण अगाडी बढ्नुपर्छ ।’ विष्टको आग्रहलाई घिसिङले स्थानीय सरकारको सहमति पाए काम अघि बढ्ने विश्वास दिलाए ।

Exit mobile version