- गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । बिहीबार सिंहदरबारस्थित गृहमन्त्रालयमा ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा २६ नागरिक संस्थाले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै महिला विरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए ।
- सरकारले गौतमुबद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउने सिलसिलामा श्रमसँग सम्बन्धित संयन्त्र लैजाने प्रतिबद्धता जनाएको छ । बुधबार श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा सरोकारवालाको बैठक भैरहवामा बसेको छ । भैरहवामा मेडिकल, म्यानपावरको व्यवस्था गरी श्रम स्वीकृति सहज बनाउने सन्दर्भमा छलफल भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
- प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरे ।
- इतिहासकार पुरुषोत्तम शमशेर जबराको निधन भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार राणाको निधन भएको हो । उनी ९९ वर्षका थिए ।
- प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको काममा अवरोध गरिरहेको भन्दै आपत्ति जनाएको छ । विद्युत् प्राधिकरणको कार्यालयमा मन्त्री खड्काले कार्यकक्ष खोलेर प्राधिकरणको काममा अवरोध पुर्याएको माओवादीको भनाइ छ ।
- उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आधुनिक विकास निर्माणलाई दिगो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । बिहीबार काठमाडौंमा ‘आर्कविल्ड एक्स्पो २०२४’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । नेपाल अहिले तीव्र शहरीकरणबाट गुज्रिरहेको बताउँदै उनले आधारभूत र उत्थानशील पूर्वाधार निर्माणमा स्वदेशी तथा विदेशी ठूलो लगानी, विज्ञता र प्रविधिको आवश्यकता औंल्याए ।
- निर्माण क्षेत्र लामो समयदेखि सुस्त छ। यसको प्रत्यक्ष र प्रमुख प्रभाव निर्माण सामग्री उत्पादन र डिजेल खपतमा देखिएको छ। चालु वर्षको सुरूआती चार महिनामा मूल्यगत आधारमा २८ प्रतिशतले र परिमाणको आधारमा १० प्रतिशतले डिजेल खपत घटेको छ।
- मानव तस्करीमा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँको निर्णयविरुद्ध परेको रिट निवेदन दर्ता भएको छ । सर्वोच्च प्रशासनले यसअघि गरेको दरपिठ आदेशलाई इजलासले बदर गरिदिएपछि बिहीबार रिट निवेदन दर्ता भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।
देशमा आजः ८ बजे ८ खबर
