किन दौडिन्छ मान्छे ?

निशु जोशी

किन दौडिन्छ मान्छे ? यो प्रश्नमा नेपालगन्ज कन्क्लेभमा शुुक्रबार एक घण्टा बढी बहस भयो । नेपालगन्ज म्याराथनको अवसरमा नेपालगन्ज कन्क्लेभका व्यानरमा गतवर्षदेखि बौद्धिक बहस भइरहेको छ ।

विगत एक दशकदेखि नेपालगन्ज म्याराथनमा खेलाडीहरु दौडिरहेका थिए । किन बौद्धिक वर्ग पनि दौडनु परेको होला ? पार्किन्सनबाट पीडित भएका बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ हिड्न नसक्ने अवस्थामा पनि नेपालगन्ज आएर आफ्नो अनुभव किन बाड्नु परेको होला ? जबकी उनका दर्जनौ अन्तर्वार्ताहरु युट्युबमा छन् । आफ्नो व्यक्तिगत जीवनमा दौडिरहेका दर्जन बढी साहित्यकार, कलाकार, समाजसेवी, राजनीतिककर्मी, खेलाडी लगायत किन दौडिदै नेपालगन्ज आउनुपरेको होला यो चिसोमा ? यी प्रश्न तपाईसंग पनि छन् होला ।

दार्शनिक दृष्टिकोणबाट हेर्दा, दौड केवल शारीरिक गतिविधि मात्र होइन, यो जीवनको प्रतिकात्मक पनि हो । व्यक्तिको बुझाई, भोगाईले दौडको परिभाषा व्यक्ति पिच्छे फरक छ । खेल र स्वास्थ्यका लागि मात्र नभइ जीवनका उद्देश्यलाई प्राप्त गर्नका लागि पनि दौडको आवश्यक्ता पर्छ ।

शुक्रबारको बहसमा ओलम्पियन सन्तोषी श्रेष्ठले व्यक्तिगत जीवनमा ओलम्पियन बन्ने दौड पुरा भएपछि समाजका लागि अरुलाई प्रेरित गर्ने दौडमा रहेको बताइन् । उनको कुराले बताउँछ कि मानिसहरु निजी जीवनसंगै समाजका लागि पनि दौडने रहेछन् । पहिले मानिस आफ्ना लागि दौडने रहेछ । आफ्नो निश्चित लक्ष्यमा पुगेपछि समाजका लागि पनि दौडिन चाहने रहेछ ।

मिस नेपाल वल्ड २०२४ आश्मा केसीको पनि यस्तै अनुभव थियो । आफ्नो लागि दौडिएकी उनी मिस नेपाल भइसकेपछि देश चिनाउछु भनेर दौडमा रहेको बताइन् ।

व्यक्ति र समय अनुसार दौडको माध्याम पनि बदलिदै जाने रहेछ । कुनै समय सिनेमामा दौडिरहेका निर्देशक मनोज पण्डित फेरि राजनीतिमा दौडिएको अनुभव पनि बहसमा सुनियो । यो रोचक र वौद्धिक बहस दैनिक नेपालगन्ज आधिकारिक फेसबुक पेजमा हेर्न÷सुन्न सकिन्छ । यहाँ मेरो दृष्टिकोणको दौडलाई लेख्दैछु ।

सन्तान जन्मिएपछि मेरो जीवन घरको कोठाभित्र कैद भयो । विहान देखि साँझसम्म काम काम भनेर दौडिने मैले डेढ वर्ष भइसक्दा समेत राम्ररी दौड्न पाएको छैन । सधै दौडिरहने मान्छेलाई जब कोठाभित्रको संसारमा बाँच्नुपर्ने हुन्छ । त्यतिबेला बल्ल दौडको महत्व थाह हुने रहेछ ।

पहाडमा जंगल घुमेकाहरु, गाँउमा बस्ती चहारेका अभिभावकहरु सहरमा सन्तानले बनाएका आलिसान पक्की महलभित्र किन बस्न चाहदैनन् ? किनकी उनीहरुको फराकिलो दौड साँघुरिएर रहेछ । उनीहरुले चाहे अनुसार दौडन नपाएर रहेछ । दौडमा देखिने, भेटिने प्रकृति वा मानिसको जीवनले धेरै सिक्ने अवसर दिन्छ ।

केहि समयअघि नेपालगन्जको व्यस्त भिडभाड हुने, मानिसहरु दौडिरहने ठाँउ धम्बोझी लगायतका केहि स्थानहरुमा खोज आफैमा…भन्दै कुनै चित्रकार दौडिरह्यो । यसलाई हेर्ने फुर्सद पनि ति अधिकांश दौडिरहेका मानिसहरुलाई भएन सायद ।

कुनै बस्तुलाई झट्ट हेरेर धारणा बनाउनु र उसको गहिराईलाई बुझेर धारणा बनाउनुमा फरक भएजस्तै दौडको गहिराई बुझ्नलाई जीवन बुझ्न जरुरी छ । जीवनमा व्यक्ति, सामाज, राज्य, संस्कृति, इतिहास सबथोक हुन्छ । हाम्र्रो कुन चस्माले दौडलाई हेर्ने भन्ने हो । यहाँ मेरो चस्माबाट जीवनको दौड देखाउने प्रयत्न गरेको छु ।

केहि दिन अघि बर्दिया जाँदै गर्दा मेरो छेउमा एकजना अधबैशे उमेरकी आमा यात्रा गर्दै थिइन् । मानिसहरुको जीवन, अनुभवमा चासो राख्ने भएकाले मउनीसंग कुरा गर्न दौडिएँ । मैले उनलाई दौडाउन प्रेरित गरे या उनी आफै दौडिन् थाहा भएन । जे होस् उनी मसंगै दौडिन् । सवारी चालकले दौडाइरहेका हामी त्यो दौडाईभित्र पनि मसिनो गरि व्यक्तिगत रुपमा दौडिन सुरु गरयौँ ।

उनले भारतमा सेफको काममा दौडिरहेका छोराका बारेमा बताइन् । विहे भइसकेकी छोरीको बारेमा बताइन् । आफु नेपालगन्जमा ज्यालामा काम गर्न दौडिएको तर छोराले काम नगर्न भनेपछि बर्दिया घरमै बस्न नेपालगन्जमा भएको डेराबाट सामान सारिएको समेत बताइन् । भागदौड भइरहेको उनको जीवनमा कोरोनाकालले विश्राम दियो । यस दौडानमा उनको जीवनको दौडमा संगै दौडिरहेका उनका श्रीमानलेसाथ छोडिदिए । अब उनी गाँउमा भएको घरमा एक्लै बस्नुपर्ने भयो ।

उनको पीडालाई स्मरण गरेपछि हामीले पनि कुराकानीको दौडलाई विश्राम दियौँ । जीवनमा निरन्तर दौडने क्रममा कहिलेकाहि हामी थाक्छौं, यो अवस्थामा विश्राम लिनु भनेको हार मान्नु होइन, बरु नयाँ ऊर्जा संकलन गर्नु हो । दौड एक आत्म–समर्पण र आत्म–खोजको अभ्यास पनि हो । जब हामी दौडन्छौं, हाम्रो मन र शरीरको सीमाहरूसँग जुध्छौं, र अन्ततः आफ्नो क्षमताको वास्तविक स्वरूप पत्ता लगाउँछौं । तसर्थ, दौडनु भनेको जीवनलाई एक नयाँ आयामबाट बुझ्ने एउटा मार्ग पनि हो ।

मानिस किन दौडिन्छ भन्ने कुरा जीवनका भौतिक, मानसिक, र दार्शनिक पक्षहरूसँग जोडिएको छ । आफ्नो दौडलाई अघि बढाउन हामीले प्रसंग बदल्यौँ । मसंग यात्रा गरिरहेकि ति आमाले एक छिमेकिको कथा सुनाइन् । दुई वर्षको बच्चा छोडेर एकजना युवतिले आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको प्रसंग सुनाइन् । ति युवति शिक्षिका थिइन् । उनका श्रीमान घरबाहिर सायद मैले सम्झे अनुसार भारतमा जागिर गर्थे । बच्चा सम्हाल्नु, घरको काम गर्नु र शिक्षिकाको पेशा सम्हाल्ने जिम्मेवारी उनी एक्लैका लागि भारी थियो । यो समयको दौडमा भोग्ने डिप्रेसन, तनाव, पीडासहितको यो भारीको तौल आमा बनिसकेका महिलाहरुले सहजै महसुस गर्न सक्छन् । किनकी उनीहरु सबै यो अवस्थाबाट गुज्रिसकेका हुन्छन् ।

यो भारीमाथि श्रीमानबाट माया नपाउँदा झन भार थपिएको महसुुस भएको कुरा बारबार सुनाएकी उनले श्रीमानको परिवारबाट साथ नपाएको पनि बताएकी रहेछन् । यसले उनको मानसिक स्वास्थ्य अवस्था राम्रो नभएको बुझ्न सकिन्छ । यसले बताउछ कि दोैडनका लागि स्वास्थ्य अवस्था पनि राम्रो हुनुपर्छ ।

मृत्युपछि उनको कसैसंग प्रेम भएको भनेर गाउँलेले हल्ला चलाए । यसमा सत्यता भएको भए उनले दौड्न रोकिने निर्णय गर्थिनन् भन्ने मलाई लाग्छ । प्रेमले संसारका सबै प्राणीलाई बाँच्न, दौड्न उत्प्रेरित गर्छ ।

प्राचीन समयमा, मानिस शिकार गर्ने र आफैंलाई सुरक्षित राख्ने उद्देश्यले दौडन्थ्यो । त्यसपश्चात परिवार, घर, कबिला, समाज बनाउदै देश बनाउन दौडियो । जीवनयापनका लागि दौड्नु उसको अस्तित्वको आधार थियो। यो आदिम प्रवृत्ति आज पनि मानिसको जीवनशैलीमा झल्किन्छ। मानिस दौडन्छ किनभने उसलाई आफ्नो लक्ष्य, सपना, वा उद्देश्यसम्म पुग्नुछ । दौडने क्रियाले उसलाई उर्जा र प्रगतिको अनुभव गराउँछ । मानिस आफ्नो शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्न दौड्छ । दौडने क्रममा उत्पन्न हुने रासायनिक प्रतिक्रियाले खुसी र सन्तोषको भावना पैदा गर्छ । यसले आत्मविश्वास र मनोबल बढाउन मद्दत गर्छ । त्यसैले पनि दौडनुपर्छ, हिड्नुपर्छ ।

सार्वजनिक गाडीमा यात्रा गरिरहेकी ति आमाको जीवनमा आत्मविश्वास बढाउने, खुसी र सन्तोषको भावना पैदा गर्ने तत्वहरुबारे ध्यान मोडेँ । किनकी हामी अहिलेसम्म दुःखको कथामा यात्रा गरिरहेका थियौँ । यसले निराशा, दुःखी र कमजोर महसुस भएको थियो ।

केहि बेरपछि उनले आफूलाई असाध्यै माया गर्ने अमाजु, उनका परिवारबारे बताइन् । उनीहरु आफूलाई भेट्न गिफ्ट लिएर नियमित उनको घर आउने बताइन् । यसले हाम्रो कुराकानीको दौडमा स्पीड थप्यो । श्रीमानले छोडेर गएपछि गाउँमा भएका युवतिहरु पनि आफ्नो घरमा जम्मा हुने, साँझको खानपान संगै गर्ने र जहाँ जाँदा पनि आफूलाई साथमा लिने गरेको बताइन् । उनी उत्साहित भएर आफ्नो कथा सुनाउन दौडिन् । कहिलेकाहि यी केटीहरुसंग म बुढी किन दौडिएको होला भनेर सोच्ने गरेको पनि बताइन् । व्यक्तिलाई दौडनका लागि समाजले पनि उत्प्रेरित गर्ने उदाहरणका रुपमा यसलाई लिन सकिन्छ । किनकी उनी कसैसंग नबोलेरै एक्लै घरभित्र खुम्चिएको भए, ती युवतिहरुले साथ नदिएको भए उनले पनि दौडन रोक्न सक्थिन् । एक्लै बस्दा आत्महत्या गर्ने भावना आएको पनि उनैले सुनाएकी थिइन् ।

यसबाट पनि हिड्नु, दौडनु, विश्राम गर्नु र फेरि दौडनु जीवनमा कति महत्वपुर्ण छ भन्ने प्रष्ट हुन्छ । दौडनु स्वतन्त्रताको अनुभूति पनि हो । यसले समाज र प्रकृतिसँग जोड्छ । गाडीभित्रबाट दौडिरहेको संसार हेर्न मात्र सकिन्छ । त्यसलाई महसुस गर्न पैदल हिड्नुपर्छ ।

नेपालगन्जको एक्लैनीभित्र पसेपछि त्यहाँको हावामा मसलाको सुगन्ध महसुस गर्न सकिन्छ । कुनै चोक गल्लीमा जाँदा त्यहाँको भिड सुन्न, गन्ध सुग्न सकिन्छ । जसले हाम्रा ज्ञानेन्द्रियहरुलाई सक्रिय रुपमा दौडन मद्यत गर्छ । मेरो दृष्टिकोणमा जीवन भनेको महसुस हो, भोगाई हो । तर मानिसहरु भोग्न भन्दा अन्यन्त्र दौडिरहेका छन् ।

एक एक रकम जम्मा गरेर लाखौ खर्चेर नेपालगन्जमा बनाएका घर खालि देख्दा ति मानिसहरु कहाँ दौडिए होलान् भन्ने लाग्छ । जब यो घरमा यात्रा गर्नु नै थिएन भने आफुले चाहाना दबाएर लाखौ खर्च जोगाएर किन यति ठुलो घर बनाएका होलान् । बरु त्यो दुःख नलिएर रमाएको भए त्यो जीवनको दौड तनावपुर्ण हुदैन थ्यो होला । मानिसहरु वर्तमानमा बाँच्न छोडेर भोलिका लागि भन्दै दौडिरहेका छन् । के यति तिब्र दौड पनि उचित हो ?

मानिसहरु घर, गाडी जोड्ने बाहानामा दुःखी बनेर, निचोरिएर दौडिरहेका छन् । मानिसको स्वभाव नै प्रतिस्पर्धात्मक छ । प्रतिस्पर्धात्मक दौड केवल खेलकुदमा मात्र होइन, जीवनको हरेक क्षेत्रमा देखिन्छ । कोहि गाँसका लागि, कोहि बासका लागि । अनेक बहानामा मानिसहरु तिब्र गतिमा दौडिरहेका छन् । यो जीवनको कुनै विन्दुमा मात्र आवश्यक हुन सक्ला । तर कुन स्पीडमा दौडने भन्ने महत्वपूर्ण छ । दौड आज पनि कसैका लागि बाध्यता छ । जसले बाध्यतालाई जितिसके अब उनीहरु समाज, राज्यका लागि दौडनुपर्छ ।

दार्शनिक रूपमा, दौडनु आत्म–खोजको अभ्यास पनि हो । दौडनु कर्मको अभ्यास हो—जहाँ गन्तव्यभन्दा यात्रा महत्वपूर्ण हुन्छ । त्यसैले अहिले संसारभर अध्यात्मलाई पछ्याइरहेको देख्न सकिन्छ । अध्यात्ममा मानिससंगै साहित्य, सिनेमाहरु पनि दौडन थालेका छन् । मिन भामले बनाएको अध्यात्म पछ्याएको साम्बलाले केहि समयअघि विश्वभरी दौडियो । चाइना र हलिउडका सिनेमाको दौडमा पनि अध्यात्म दौडिसकेको छ । नेपालका सेलिब्रेटि कलाकारहरु विपश्यनाका लागि भन्दै दौडिरहेका छन् ।

अहिले अध्यात्म पनि व्यवसायिक होडमा देखिन थालेको छ । सबै क्षेत्रले व्यवसायिकताको विकाससंगै गुणस्तरियता जोगाउन नसकेका उदाहरण पनि छन् । यो दौड समाजका लागि लाभदायिक नहुन सक्छ । व्यक्ति, समाज र राज्य सधै दौडिरहेको हुन्छ । तर कुन समयमा कति गतिमा दौडने भन्ने महत्वपूर्ण हो । त्यसैले शुक्रबारको बहसमा पाइलट विजय लामाले भनेजस्तै सहि समयमा सही निर्णय लिनुपर्ने आवश्यक्ता छ ।

Exit mobile version