भ्रष्टाचार विरुद्ध सन्देश दिंदै वाकाथन

सोमबार भ्रष्टाचार बिरुद्ध २१ औं अन्तराष्ट्रिय दिवसको अवसरमा नेपालगन्जमा वाकाथन आयोजना गरिएको छ । बिगत चार बर्ष देखि भइरहेको वाकाथनको चौथो संस्करण भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बास नेपालको आयोजना र अन्तरालको व्यवस्थापनमा आयोजना भएको हो ।

नेपालगन्जको गणेशमान चौकबाट सुरु भएको वाकाथन बिपि चौक, त्रिभुवन चौक, सदरलाइन, जिल्ला प्रशासन कार्यालय हुँदै रामलिला मैदानमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने नाराका साथ भएकोे नेपालगन्ज वाकाथनमा सडक अन्र्तक्रिया समेत भएको थियो । सडकबाट नागरिक समाजका प्रतिनिधिहरूले भ्रष्टाचार बिरुद्ध नागरिक ऐक्यबद्धता जनाएका थिए ।

सडकबाट भ्रष्टाचार बिरुद्ध मन्तव्य व्यक्त गर्नेहरूमा निल सागर सेवाश्रमका अध्यक्ष सरिता खनाल, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य धर्मलाल रोकाय, महिला जागृति शेल नेपालगञ्जकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, डिभिजन बन कार्यालयका बन अधिकृत बाबुराम पोखेल, गैसस महासंघ बाँकेका पूर्ब अध्यक्ष तेज बिक्रम शाह, सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन गर्नुका साथै पर्चा, पम्लपेट बितरण गरिएको थियो ।

बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारी, कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रम रामलिला मैदानमा पुगेर समापन भएको थियो ।

समापन समारोहलाई नेपाल सरकारका पूर्ब सचिव, राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा र भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खडकाले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल सरकारका पूर्ब सचिव, राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले देशमा सुशासन बाहालिका लागि सरकार गम्भिर बन्नु पर्ने बताए । कार्यक्रममा बोल्दै भ्रष्टाचार बिरुद्धका अभियन्ता केदार खडकाले अवको आन्दोलन भ्रष्टाचार बिरुद्धको आन्दोलन हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवस नमनाएर गैर जिम्मेवारीपना प्रस्तुत गरेको बताए ।

पश्चिम नेपालमा हुने एक मात्र वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्देश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दुरी पार गर्नुलाई वाकाथन भनिन्छ ।

Exit mobile version