सिकलसेल प्रति संवेदनशील बन्दै सरकार

खास गरी थारु समुदायमा देखिने सिकलसेल उपचारमा सरकार संवेदनशील भएको छ । त्यसैले थारुहरूको बहुल क्षेत्र पश्चिम नेपालको केन्द्रका रूपमा रहेको भेरी अस्पतालमा सरकारले
सिकलसेल एनिमिया रोगको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा छुट्टै वार्ड स्थापना गर्न लागेको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले आगामी सोमबार औपचारिक कार्यक्रम बीच स्वास्थ्य मन्त्री प्रदिप पौडेलले वार्डको स्थापना गर्ने जानकारी दिएका छन् । ‘छुट्टै वार्ड स्थापनाले सिलसेलका बिरामीको उपचार थप व्यवस्थित हुने भएको छ’, अध्यक्ष शाहले दैनिक नेपालगन्जसँग भने ।

सिकलसेलका विज्ञ समेत रहेका भेरी अस्पतालका चिकित्सक डा. राजन पाण्डेले भेरीमा मात्रै सिकलसेल पहिचान भएका करिब १ हजार १ सय बिरामी नियमित फलोअपमा रहेको जानकारी दिए । उनले थालेसिमियाका बिरामी पनि सय बढी रहेको बताए । पश्चिमका अन्य अस्पतालहरूमा पनि सिकलसेलका बिरामी उपचारका लागि पुग्ने गरेको जानकारी दिए ।
सिकलसेल विज्ञ डा. पाण्डेले भेरी अस्पतालमा दैनिक १५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको बताए । ‘सिकलसेलका बिरामीले जीवनभर उपचार गर्नुपर्ने हुन्छ, छुट्टै वार्ड नहुँदा अस्पतालमा बिरामीको चाप बढ्दा भुईंमै राखेर रगत चढाउनु पर्ने अवस्था छ’, उनले भने, ‘डेडिकेटेड वार्डले अब त्यो समस्या हटेर जानेछ, बिरामीलाई निकै सहज हुन्छ ।’

‘पश्चिमका थारु बहुल क्षेत्र दाङ्ग, बाँके, बर्दिया, कैलाली, नवलपरासी, कपिलवस्तु, रूपन्देही, कञ्चनपुरमा सिकलसेलका बिरामी बढी छन्, भेरीमा डेडिकेटेड वार्ड हुँदा आउने बिरामीले सहज उपचार गराएर जान पाउने भएका छन्’, डा. पाण्डेले भने ।

लुम्बिनी प्रदेश सरकारले भेरीमा रगतका लागि लाग्ने शुल्क समेत निशुल्क गरिदिएको छ । ‘रगतको शुल्क यसअघि पनि लिइँदैनथ्यो, रगत भण्डारण तथा परीक्षणमा लाग्ने केही शुल्क बिरामीले तिर्नुपथ्र्यो, अहिले भेरी आउने बिरामीले त्यो शुल्क पनि तिर्नुपर्दैन, प्रदेश सरकारले तिरिदिन्छ’, डा. पाण्डेले भने ।

सिकलसेल विज्ञ डा. पाण्डेले सिकलसेलका बिरामीलाई रगत आवश्यक भैरहँदा माग अनुसार आपूर्ति भने हुन नसकेको बताए । ‘नियमित रक्तदान कार्यक्रमको आयोजना अझै बढाउँदै लैजान आवश्यक छ, त्यसका लागि रक्तदानको सचेतनामा फैलाउनु पर्छ’, उनले भने ।

‘खास गरी थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोग समस्याका रूपमा देखिएको थियो, यसलाई बेग्लै वार्ड स्थापना गरेर सञ्चालन गर्नु पर्ने जरुरी नै थियो’, भेरी अस्पताल नेपालगन्जमा प्रमुख मेसु डा. निराजन सुवेदीले भने, ‘भेरीमा अन्य बिरामीहरूको उपचार पनि गर्नु पर्ने भएको र सिकलसेलका बिरामीको पनि उपचार गर्नु पर्ने हुँदा समस्या थियो उपचारमा, सिकलसेलका बिरामीहरूको हात खुट्टा तथा छातीमा सहन नसक्ने पीडा हुने हुँदा भर्ना गर्नुपर्ने अवस्था हुन्छ तर यसका लागि वार्ड थिएन, अब वार्डको व्यवस्था गरेका हौं ।’

स्वास्थ्य तथा जनसख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल बिरामीका लागि गत कार्तिक २० गते भेरी अस्पताल नेपालगन्जमा छुट्टै वार्ड स्थापनाको निर्णय गरेका थिए । थारु समुदायको प्रमुख स्वास्थ्य समस्या सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना गरिएको छ । १० बेड र दिवा उपचारका लागि ५ बेडसहितको वार्ड स्थापना गरिएको हो ।

मन्त्री पौडेलले यसअघि एक समुदायकै प्रमुख स्वास्थ्य समस्यासँग जुध्नका लागि आवश्यक सबै विकल्प अपनाउन सरकारी अस्पतालले वार्ड स्थापना गरेको बताएका थिए । यससँगै थारु समुदायमा वंशाणुगत समस्याका रूपमा रहेको सिकलसेल उपचारका लागि उनीहरूको बसोबास रहेको प्रमुख दुवै क्षेत्रमा बेग्लै वार्डमार्फत उपचार सुरु भएको हो ।

Exit mobile version