क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले स्थानीय सवाललाई लिएर संघर्षका कार्यक्रम घोषणा गरेको छ । मोहन वैद्य (किरण) नेतृत्वको उक्त पार्टीको एकता महाधिवेशनका पारित एजेण्डालाई लिएर मंगलबार नेपालगन्जमा गरिएको पत्रकार अन्तरक्रियामा संघर्षका कार्यक्रमबारे जानकारी दिइएको हो ।
‘जनजीविका र जनसरोकारका सवालमा सशक्त ढंगले आन्दोलनलाई उचाई दिने योजनामा छौं’, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका ६ नम्बर प्रदेश संयोजक दिपक बहादुर शाहीले पत्रकारहरू सँग भने, ‘हाम्रो आन्दोलनको स्वरूप क्रमशः सशस्त्र समेत हुनसक्छ ।’ शाहीले पार्टीको मंसिर १३ देखि २३ सम्म काठमाडौंमा भएको राष्ट्रिय एकता महाधिवेशनबारे जानकारी दिंदै विभिन्न एजेण्डाहरू तय गरिएको बताए ।
‘पार्टीका आन्तरिक फोरमहरू बाहेक कही कतै पनि जनयुद्ध र जनआन्दोलनको विरोध गर्न नपाउने निर्णय भएको छ’, पार्टी नेता शाहीले महाधिवेशनले तय गरेका समसामयिक पारित प्रस्तावबारे जानकारी दिंदै भने । उनका अनुसार, राष्ट्रिय, अन्तर्राष्ट्रिय र स्थानीय सवालहरू बारे केन्द्रित रहेर विभिन्न प्रस्ताव पारित गरेको पार्टीले त्यसको कार्यान्वयनमा निर्देशित गरेको छ ।
‘हाम्रो प्रदेशको सवालमा विभिन्न आठ वटा स्थानीय संघर्षका मुद्दा अघि सारिएको छ’, प्रदेश संयोजक शाहीले प्रेस विज्ञप्ति मार्फत त्यसबारे जानकारी दिंदै भनेका छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको प्रदेश ६ ले तय गरेका स्थानीय संघर्षका मुद्दाहरूमा भनिएको छ, ‘भुमाफिया विरुद्ध अभियान सञ्चालन गरिनेछ ।’ त्यसका लागि ठूला जमिन्दारको जमिनमा क्रान्तिकारी भूमिसुधार लागु गर्न उक्त पार्टीले दबाब दिएको छ ।
क्रान्तिकारीले कृषि आधुनिकीकरण गर्दै उत्पादन संकलन केन्द्र स्थापना गरी उपभोक्तासम्म सहज वितरण व्यवस्था मिलाउने योजनालाई पनि स्थानीय संघर्षका मुद्दामा रूपमा अघि सार्दै त्यसको कार्यान्वयनमा अग्रसरता लिने जनाएको छ । ‘भूमाफिया विरुद्ध आन्दोलन चर्कारहँदा कृषि आधुनिकीकरण हाम्रो सवाल रहनेछ’, शाहीले भने ।
स्वास्थ्य र शिक्षालाई पूर्ण रूपमा निःशुल्क र अनिवार्य गर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीले संघर्ष अघि सार्ने बताएको छ । ‘शिक्षा–स्वास्थ्य माफिया विरुद्ध संघर्ष बाध्यात्मक भएको छ’, शाहीले आन्दोलनका कार्यक्रमबारे दैनिक नेपालगन्ज सँग भने, ‘त्यसका लागि चरणबद्ध छलफल र जनचेतना अभियानमा छौं ।’
मिटरब्याजीलाई कारवाही गर्ने नीति लिएको क्रान्तिकारीकारी कम्युनिष्ट पार्टीले कालोबजारी र तस्करी विरुद्ध संघर्षका कार्यक्रम तय गरिने भनेको छ । भ्रष्टाचार र अनियमितता विरुद्ध भौतिक कारवाहीसम्मको चेतावनी दिएको उक्त पार्टीले सहकारी ठगी विरुद्ध पनि कारवाहीका योजना बनाएको जनाएको छ ।
‘सीमाना हुने ठगी र नेपाली मुद्राको अपचलन रोक्न समेत हाम्रो पार्टीले आवश्यक निगरानी पछि कारवाहीको नीति लिएको छ’, पार्टीका केन्द्रीय नेता समेत रहेका प्रदेश संयोजक शाहीले भने, ‘लागुऔषध नियन्त्रण, चेलिबेटीबेचबिखन, देहव्यापार जस्ता बिकृति विसंगति विरुद्ध पनि
पार्टीले सशक्त ढंगले आफुलाई परिचालन गर्नेछ ।’
नवनिर्वाचितलाई सम्मान
कार्यक्रममा पार्टीका जिल्ला सचिव गुणनिधि आचार्यको अध्यक्षतामा प्रदेश संयोजक दिपक बहादुर शाही, केन्द्रीय सल्लाहकार कमला खड्का लगायतले नवनिर्वाचितहरूलाई स्वागतसम्मान गरेका हुन् । महासंघका प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला अध्यक्ष नविन गिरी लगायतका नवनिर्वाचितहरूलाई सम्मान गरिएको थियो ।