सातौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता शनिबार गरिने भएको छ । त्यसको तयारी पूरा भएको जानकारी दिन बुधबार आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबले पत्रकार सम्मेलनको आयोजना गर्यो । आयोजकले राष्ट्रिय स्तरमा साइकल दौड प्रतियोगिता आयोजना गरेर नेपालगन्जले वातावरण मैत्री साधन, स्वस्थ जीवन र खेलकुदलाई एकसाथ अगाडि बढाउन विश्वव्यापी सन्देश प्रवाह गर्न खोजेको जनाएको छ ।
‘हामी साइकल दौडलाई नितान्त एउटा इभेन्टका रूपमा मात्रै लिइएका छैनौं’, वातावरण मैत्री साइकल प्रयोगको प्राथमिकतालाई अभियानकै रूपमा अगाडि सारिएको जानकारी दिंदै मेयर कप साइकल दौड प्रतियोगिताको आयोजक संस्था, नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटाले पत्रकार सम्मेलनमा भने, ‘यो आयोजनाले नेपालगन्जलाई चिनाइ मात्रै रहेको छैन, पर्यटकीय गन्तव्यको सहरका रूपमा अगाडि बढाउन पनि सहयोग पुर्याइरहेको छ ।’ अध्यक्ष सापकोटाले टुर डे ठाकुरद्वारादेखि मेयर कप साइकलसम्म आइपुग्दा साइकल इभेन्टलाई स्वस्थ जीवन र खेलकुदसँग जोडेर साइक्लिङ्ग क्लबले अभियानकै रूपमा आफुलाई अगाडि बढाइरहेको बताए ।
नेपालगन्ज साइक्लिङ्ग क्लबले प्रतियोगितात्मक साइकल अभियानलाई अब खेलाडी उत्पादनसँग जोड्ने अध्यक्ष सापकोटाको भनाइ छ । ‘त्यसका लागि यसपटकदेखि हामी स्कुल स्तरीय प्रतियोगिता गर्दैछौं’, अध्यक्ष सापकोटाले विभिन्न साइकल दौड प्रतियोगितामा नेपालगन्जबाट खेलाडीहरू सहभागिता हुन थालेको जानकारी दिंदै भने, ‘
खेलको उर्बर क्षेत्र विद्यालय रहेकाले बालबालिकालाई साइकलप्रतिको आकर्षण बढाउन र साइकल दौडमा खेलाडीका रूपमा तयार गर्न प्रतियोगिता गर्न लागिएको हो ।’
पुस ६ गते शनिबार आयोजना हुने सातौं राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगितामा विभिन्न पाँच वटा विधामा प्रतिस्पर्धा गरिंदैछ । कार्यक्रम संयोजक कबिराम बुढाथोकीका अनुसार, त्यसमा सहभागिताका लागि देशका विभिन्न ठाउँबाट ९० बढी खेलाडीले सहभागिता जनाउनु सुनिश्चित भैसकेको छ । नेपालगन्ज उपमहानगरपालिकासँगको साझेदारीमा आयोजना हुने मेयर कपमा ३५ किलोमिटर एमटिबी मेल, २५ किलोमिटर एमटीबी माष्टर र विद्यालय स्तरका खेलाडीका लागि १६ किलोमिटर एमटिबी साइकल दौड प्रतियोगिता राखिएको कार्यक्रम संयोजक बुढाथोकीले जानकारी दिए ।
त्यस्तै साधारण साइकल तर्फ २२ किलोमिटर दुरीको पुरुष र १६ किलोमिटर दुरीमा महिलाहरू बीच प्रतिस्पर्धा गरिने कार्यक्रम तय भएको नेपालगन्ज साइक्लिङ्ग क्लबका सचिव इन्द्र कुमार गिरीले जानकारी दिए । सचिव गिरीका अनुसार, शनिबार विहान नेपालगन्जको विपीचोकबाट सुरु हुने साइकल दौड प्रतियोगिता धम्बोझी, राँझा, हवल्दारपुर हुँदै कोहलपुर पुगेर सोही रुट विपी चोक फर्किनेछ ।
पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले नेपालगन्जको परम्परागत साधनका रूपमा रहेको साइकललाई खेलकुदका रूपमा लिएर नगरले राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नुले उत्साह जगाएको बताए । प्रतियोगितामा विभिन्न विधाका विजेताहरुले ५० हजारसम्मका नगद पुरस्कार जित्न सक्नेछन् ।