कर्णाली बैंकबारे बुझ्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले कर्णाली विकास बैंकको आर्थिक अवस्थाबारे जाँचबुझ सुरु गरेको छ । व्यवस्थापन समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘व्यवस्थापन समूहले संस्थाको सम्पूर्ण सम्पत्ति र दायित्व आफ्नो जिम्मामा लिई वित्तीय हिसाबकिताब चेकजाँच गर्न सुरु गरिसकेको छ ।’
शुक्रबार जारी गरिएको विज्ञप्ति अनुसार, आइतबारसम्मका लागि बैंकिङ्ग कारोबार स्थगित गरिएको उल्लेख गर्दै व्यवस्थापन समूहले सम्पूर्ण बैंकिङ्ग कारोबारहरू यथाशिघ्र नियमित गरिने जानकारी दिएको छ ।

‘निक्षेप रकम भुक्तानी र नियमित बैंकिङ्ग कारोबार सञ्चालन प्रयोजनार्थ बैंक तथा वित्तीय संस्था लगायत सम्बन्धित अन्य पक्षहरूसँग विभिन्न पक्षहरूसँग छलफल भैरहेको’ जानकारी दिंदै विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण उपायहरू अवलम्वन गरी यथाशिघ्र तोकिए अनुसार निक्षेपकर्ताबाट भुक्तानी माग भए बमोजिम क्रमशः भुक्तानी गर्दै जानेछ ।’

नेपाल राष्ट्र बैंकको गत पुस १० गते सञ्चालक समितिको निर्णयबाट कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि भोलिपल्ट पुस ११ गतेदेखि व्यवस्थापन नियन्त्रणमा लिएको थियो । त्यसअघि कर्णाली विकास बैंकको विशेष छानबिन समितिको प्रतिवेदन राष्ट्र बैंक पुगेको थियो । गत पुस ५ गते बैंकको सञ्चालक समिति विशेष बैठकले गम्भीर आर्थिक घोटाला आशंका गर्दै उच्च व्यवस्थापन सहित पूर्व सञ्चालकहरूका हिसाबकिताब छानबिन गर्न गठन गरेको समितिले गरेको चार बूंदे सुझावका आधारमा राष्ट्र बैंकले तत्काल ‘टेकओभर गर्ने’ वातावरण बनेको हो ।

सम्बद्ध स्रोतका अनुसार, तत्कालीन अध्यक्ष डा. ओम प्रकाश मिश्रको संयोजकत्वमा सञ्चालक इन्जिनियर निशार अहमद दर्जी, युवराज अधिकारी, कोमल विष्ट र वरिष्ठ अधिकृत राजकुमार प्याकुरेल सदस्य सचिव रहेको छानबिन समितिले पुस ७ गते आफ्नो अध्ययन पूरा गरी भोलिपल्ट नै राष्ट्र बैंक समक्ष प्रतिवेदन पठाएको थियो । ‘हामीले ठूलो रकम अपचलन भएको आशंका सहितको तथ्य राष्ट्र बैंक, प्रमुख जिल्ला अधिकारी र बैंकको सुरक्षाका लागि बाँके प्रहरी समक्ष समेत लिखित अनुरोध गरेका थियौं’, कर्मचारी स्रोत भन्छ, ‘त्यस लगत्तै राष्ट्र बैंकले अवस्थाको गम्भीरतालाई मनन् गर्दै बैंकलाई समस्याग्रस्त घोषणा सहित टेकओभर गरेको हो ।’

त्यसबीच बैंक सञ्चालक समितिले सिइओ निरज विक्रम शाहलाई निलम्वन गरी राजकुमार प्याकुरेललाई निमित्त सिइओ तोक्ने निर्णय समेत गरेको बताइएको छ । राष्ट्र बैंकले बैंकको सञ्चालक समिति समेतलाई बर्खास्त गरी तीन सदस्यीय विशेष अधिकार सहितको व्यवस्थापन समूह गठन गरेपछि कर्णाली डेभलपमेन्ट बैंकको तत्कालीन छानबिन समितिको प्रतिवेदन सहित अन्य वित्तीय हिसाबकिताब समेत जाँचबुझ गरिरहेको बताइएको छ ।

कर्णाली विकास बैंकलाई राष्ट्र बैंकले टेकओभर गरेपछि बुधबारदेखि शेयर कारोबार गर्ने नेप्सेले कारोबार रोक्का गरेको छ ।

न्यूनतम पूँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारण सहित वित्तीय अवस्था समस्या उन्मुख देखिएको भन्दै राष्ट्र बैंकले गत मंसिर ११ गतेदेखि नै शिघ्र सुधारात्मक कारवाही गरेको थियो । त्यसबीच नै डा. मिश्र नेतृत्वको नयाँ व्यवस्थापनले थालेको सुधारात्मक प्रयास अपेक्षित सफल हुन नसकेपछि छानबिन समिति गठन गरी राष्ट्र बैंकलाई प्रतिवेदन बुझाउने अवस्था भएको सम्बद्ध स्रोतले जनाएको छ ।

Exit mobile version