प्रदुषण गर्नेलाई जरिवाना

नेपालगन्ज उपमहानगरपालिकाले कवाडी सामान जलाएर प्रदुषण गर्ने शितला ट्रेडर्सलाई कारबाही गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० औद्योगिक क्षेत्र अगाडि अवस्थित एक पसलले कवाडी सामान जलाएर प्रदुषण गरेपछि नेपालगन्ज उपमहानगरपालिकाले ’फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम ५ हजार रूपैयाँ जरिवाना गरेको छ । नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटी नेतृत्वको टोलीले पसल सञ्चालकलाई जरिवाना गरेका हुन् ।

नेपालगन्ज ग्लालरीका सञ्चालक समिरमान श्रेष्ठले सामाजिक सञ्जालमा प्रदुषणको भिडियो पोष्ट गरेपछि नगर प्रहरीले ’एक्सन’ लिएको उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्ने तथा प्रदुषण गर्नेहरू विरुद्ध कडा नीति लिएको छ । फोहोरमैला ब्यवस्थापनका लागि लामो समय सचेतनात्मक अभियान चलाएको नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय कानुन बमोजम धमाधम कारबाही गरिरहेको छ ।

नगर प्रमुख प्रशान्त विष्टले फोहोरमैला ब्यवस्थापनका लागि गम्भिरतापूर्वक काम गरिरहेको भन्दै नगरबासीले यो अभियानमा सघाउनुपर्ने बताए । ‘सुरु सुरुमा हामीले प्रवद्र्धनात्मक कार्यक्रम गर्यौं, अब भने कडारूपमा जानै पर्दछ । फोहोरमैलाविरुद्ध शून्य सहनशिलताका साथ हामी अघि बढेका छौं’, उनले भने । विष्टले जथाभाबी फोहोर फालेको थाहा पाएमा सचेत नागरिकका हिसाबले जानकारी गराउन आग्रह समेत गरेका छन् ।

Exit mobile version