- भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुआत भएको छ । यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो ।
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका पूर्वप्रमुख पिएल सिंह मुलुकको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा भएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँद्वारा स्वर्गीय सिंहको १३औँ पुण्यतिथिमा भएको श्रद्धाञ्जलीसभामा पूर्वप्रधानमन्त्री देउवाले जनसम्पर्क एवं लोकप्रियताका आधारमा उहाँ समकालीन नेताहरुमा धेरै अगाडि रहेको बताए ।
- परराष्ट्रमन्त्री एवं कांग्रेस नेता आरजु राणा देउवाले कैलालीबाटै चुनाव लड्ने बताएकी छिन् । शनिबार धनगढी आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले चुनाव लड्ने प्रसंगमा उक्त कुरा बताएकी हुन् ।
- नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले अहिलेको सरकार उद्योगी, दलाल र पुँजीपतिहरूको पक्षमा बनेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार दलाल पुँजीपतिको पक्षमा र श्रमिकहरूको विपक्षमा रहेको आरोप लगाए । तर, सरकारलाई श्रमिकको पक्षमा लाग्न आफूहरूले बाध्य पार्ने दाबी मेत उनले गरे ।
- वीरगञ्जको मुख्य बजार क्षेत्रमा जभाभावी ढङ्गले टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ । वीरगञ्जका मुख्य सडकमा टाँगा चलाउँदा एकातर्फ सवारी दुर्घटनामा पर्ने गरेका छन् । अर्काेतर्फ टाँगाका लागि प्रयोग गरिने घोडाको मलमूत्रको कारणले सडकमा दुर्गन्धसमेत फैलिने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टले जभाभावी ढङ्गले सडकमा टाँगा चलाउँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताए ।
- हुम्लाको सर्केघाट गाउँपालिकामा निर्माण हुन लागेको ४००/१३२ केभी सबस्टेसन निर्माणका लागि ११० रोपनी जग्गा अधिग्रहण गरिने भएको छ ।राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले हुम्ला र मुगु जिल्लामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा समाहित गराउन आवश्यक सबस्टेसन निर्माणका जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालय हुम्लालाई अनुरोध गरेसँगै जिप्रका हुम्लाले उक्त जग्गा अधिग्रहण गर्न लागेको हो ।
- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताएका छन् । मन्त्री दाहालले शनिबार द्रुतमार्गको प्रस्थान विन्दु मानिएको खोकनादेखि बुङ्मती हुँदै फसिडोल सम्मको अवलोकन एवम् निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधानतर्फ लाग्ने बताएका हुन् ।
- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए ।
देशमा आजः ८ बजे ८ खबर
