देशमा आजः ८ बजे ८ खबर

  1. राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
  2. स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताएका हुन् ।
  3. स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले हालसम्मकै उच्च अंक पाएको छ । महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् ।
  4. काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् ।
  5. नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सुशासन कायम गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशामा अग्रसर हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘गभर्मेन्ट रिफर्म सेन्टर’ स्थापना गरिने बताएका छन् । आइतबार जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यस्तो सेन्टर स्थापनाका साथै त्यसका एकाइ हरेक कार्यालयमा स्थापना गर्ने गरी गृहकार्य थालिएको बताए ।
  6. बारामा नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभागका एक जना कर्मचारीको संलग्नता देखिएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि खटिएको टोलीले प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको संलग्नता फेला परेको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी महेन्द्र खड्काले बताएका छन् ।
  7. नुवाकोटस्थित शेरादरबारको जग्गा निजी कम्पनीले अवैधानिक रुपमा भोगचलन गरिरहेको प्रकरणमा गृहमन्त्री रमेश लेखकले चासो देखाएका छन् । गृहमन्त्री रमेश लेखकले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी दिपक थापालाई मन्त्रालयमा बोलाएर अनुसन्धानबारे ब्रिफिङ लिएका हुन् ।
  8. सुनवलदेखि बर्दघाटसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन संचालनमा आएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका सूर्यवस्तीस्थित न्यु बुटवल सबस्टेसनबाट बर्दघाट नगरपालिका–५ सम्मको करिब २२ किलोमिटर प्रसारण लाइन एक हप्ताअगाडि परीक्षण गरेर संचालनमा ल्याइएको विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।
Exit mobile version