मेडिकल कलेज विवादमा प्रदेश सरकारको चासो

लर्ड बुद्ध एजुकेशनल एकेडेमी, शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जका कर्मचारीहरू आन्दोलित भैरहँदा उठेका कानुनी प्रश्नबारे प्रदेश सरकारले चासो देखाएको छ । त्यसका लागि अध्ययनको निर्णयमा पुगेको प्रदेश सरकारले स्वास्थ्य मन्त्री खेम सारुको नेतृत्वमा स्वास्थ्य मन्त्रालयका सचिव बासुदेव उपाध्याय सहितको टोली नेपालगन्ज पठाएको हो ।

पूर्व मन्त्री समेत रहेका प्रदेशसभा सदस्य रत्न खत्रीले कर्मचारी आन्दोलनलाई लिएर संसदमा उठाएका सवालले प्रदेश सरकारको ध्यानाकर्षण गराएको थियो । ‘त्यसैले सरकारले यसको अध्ययनमा खटाएको हो’, स्वास्थ्यमन्त्री सारुलाई उद्धृत गर्दै कर्मचारी यूनियन अध्यक्ष अनिता थापाले भनिन्, ‘हामीले हाम्रा सबै माग र मुद्दाबारे सरकारका मन्त्री र सचिव सहितको टोलीलाई जानकारी गराएका छौं ।’

व्यवस्थापनका तर्फबाट निर्देशक डा. सुरेश कनोडिया, डा. सन्तोष शर्मा, उपनिर्देशक श्याम कुमार शर्मा लगायतको टोलीले मन्त्री सहितको प्रदेश सरकारको टोलीसँग छलफल, वार्ता गरेको थियो । ‘उहाँहरूले मागेका जानकारी र आवश्यक कागजपत्र बुझाएका छौं’, उपनिर्देशक शर्माले सरकारको चासो बारे दैनिक नेपालगन्जको प्रश्नमा भने, ‘संसदमा बोलिएका कुराले सरकारलाई धेरै कुराको भ्रम परेको रहेछ, त्यसलाई चिर्न आजको छलफलले महत्वपूर्ण भूमिका खेलेको छ ।’

आन्दोलनरत् कर्मचारी र व्यवस्थापनसँग छुट्टाछुट्टै भेटवार्ता गरेको मन्त्री सारुको टोलीले अध्ययनका आधारमा आवश्यक धारणा बनाउनेछ । ‘मैले संसदमा आन्दोलनरत् कर्मचारीलाई बेवास्ता गरेर व्यवस्थापनले गरेको मनोमानी विरुद्ध सरकारको ध्यानाकर्षण गराएकाले अवस्था बुझ्न मन्त्री स्वयं नेतृत्व गरेर टोली आएको हो’, कर्मचारीलाई साथमा लिएर व्यवस्थापन अगाडि बढ्नु पर्ने आफ्नो धारणा राख्दै सांसद खत्रीले भने ।

Exit mobile version