जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आ.व.को पछिल्लो पाँच महिनामा मापसे गरी सवारी चलाएको फेला पारेपछि ७ सय १७ वटा सवारी साधनलाई कारवाही गरेको छ । जसबाट ट्राफिक प्रहरीले ३ लाख २५ हजार ५ सय जरिवाना असुली भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साउनमा १ सय ३९, भाद्रमा १ सय ७७, असोजमा १ सय ८४, कार्तिकमा १ सय ७२, मंसिरमा ४५ वटा मापसेको कारवाही गरेको हो ।
पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ । तीव्र गति लापर्बाही, लेन मिच्नेलगायत कारणले सवारी दुर्घटना हुँदा मानिसको बढी मृत्यु हुने गरेकामा पछिल्लो समय चालकले मदिरा पिएर सवारीसाधन चलाउने कारण दुर्घटना बढिरहेको प्रहरीले जनाएको छ । यसबाट स्वयं चालक तथा यात्रुको ज्यान जाने गरेको छ ।
बाँकेमा चालु आर्थिक बर्ष २०८१÷०८२ को पाँच महिनामा भएको सवारी दुर्घटनामा २८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक बाँकेको तथ्यांक अनुसार, गत साउनदेखि मंसिर मसान्तसम्म भएका कुल ४९ वटा सवारी दुर्घटनामा २८ जनाले ज्यान गुमाएका हुन् । चालु आ.व.को पाँच महिनामा बाँकेमा भएका दुर्घटनामा ३६ जना गम्भीर र ५९ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक रहेको छ ।
बाँके मात्रै होइन मापसे र लापसे सेवन गरी सवारी दुर्घटना भैरहेको प्रहरी अधिकारीहरु बताउँछन् । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मापसे र लापसे (लागुपदार्थ सेवन) सवारी दुर्घटनाको कारण बनिरहेको बताएका छन् । उनले पछिल्लो पाँच महिनाको तथ्यांकमा मापसे गरेर सवारीसाधन चलाएका चालकका कारण छ सय २१ वटा दुर्घटना भएका छन् । ती दुर्घटनाबाट ४७ जनाको ज्यान गएको छ भने आठ सय सात जना घाइते भएका छन् ।
यसरी हुने दुर्घटना संघीय राजधानी काठमाडौँ उपत्यकामै सबैभन्दा बढी हुने गरेको पाइएको छ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा उपत्यकामा चालकले मापसे गरेर सवारीसाधन चलाएका तीन सय ७७ वटा गाडी दुर्घटना हुँदा १६ जनाको मृत्यु र तीन सय ८९ जना घाइते भएका छन् ।
यस्तै, कोशी प्रदेशमा यस्ता २८ वटा दुर्घटनामा सातको मृत्यु र ५० जना घाइते भएका छन् ।
मधेश प्रदेशमा ८२ दुर्घटना हुँदा एकको मृत्यु, एक सय ५४ जना घाइते, बागमती प्रदेशमा २८ दुर्घटनामा तीनको मृत्यु ४४ घाइते, गण्डकी प्रदेशमा २३ दुर्घटना हुँदा तीनको मृत्यु र ३६ जना घाइते भएका छन् ।
यस्तै, लुम्बिनी प्रदेशमा मापसेका कारण ४३ दुर्घटना हुँदा १० को मृत्यु र ७० जना घाइते भएका छन् । कर्णालीमा १२ दुर्घटना हुँदा १४ जना घाइते र सुदूरपश्चिम प्रदेशमा २८ दुर्घटना हुँदा सातको मृत्यु र ५० जना घाइते भएका प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलगायत देशभर नै मापसेविरुद्ध जाँच र कारबाही अभियान जारी रहेको छ तर कतिपय अवस्थामा सार्वजनिक सवारीसाधनका साथै एम्बुलेन्स र स्कूल बसका चालकले समेत मापसे तथा लापसे गरेर सवारी चलाएका भेटिएका प्रवक्ता अधिकारीले जनाकारी दिएका छन् ।
यस्ता चालकका कारण धेरै यात्रुको ज्यान जोखिममा पर्ने भएकाले त्यस्तो सूचना पाए प्रहरीलाई जानकारी गराउन सार्वजनिक अनुरोध गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले बताए । यसरी अनुरोध तथा प्रचारप्रसार गर्दा पनि मापसे गरेर सवारी चलाउने क्रम रोकिएको छैन । चालकको लापर्बाहीले स्वयं आफैँ र यात्रुहरूको समेत ज्यान जोखिममा गर्ने भएकाले सतर्कता अपनाउन प्रहरीको आग्रह गरेको छ ।
प्रहरीद्वारा सावधानी अपनाउन आग्रह
मापसे दुर्घटनाको कारक बन्दै गएपछि जिल्लामा प्रहरीले त्यसको चेकजाँच बढाएको छ । बाँकेमा प्रहरीले ट्राफिक नियमको पालना नहुँदा हुने दुर्घटनाका लागि सचेतनाका कार्यक्रम गरिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आ.व.को पाँच महिनामा मात्रै ७ सय १३ वटा सचेतनाका कार्यक्रम गरी ३१ हजार ३८ लाई ट्राफिक नियम सम्बन्धी जानकारी दिएको बताएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले विगत केहि दिनदेखि बाँकेमा मोटरसाइकल दुर्घटनाको संख्यामा वृद्धि भई सवारी दुर्घटनाबाट चालक तथा पछाडि सवार व्यक्तिहरू नै घाईते तथा मृत्यु हुने गरेको उल्लेख गर्दै यस्ता सवारी साधनहरू दुर्घटना हुनबाट बच्नका लागि सावधानिका साथ सवारी चलाउन, सवारी चलाउँदा लागुऔषध, मादक पदार्थ सेवन नगर्न आग्रह गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले २२ बुंदे अनुरोध सवारी चालकका लागि जारी गरेको छ । ‘मा.प.से÷ला.प.से गरेर सवारी साधन नचलाउने, सिट क्षमता भन्दा बढी मानिस राखेर सवारी साधन नचलाउने, हेलमेट तथा हेलमेटको फित्ता राम्रो सँग लगाउने, चालक अनुमति पत्र प्राप्त नगरेकाहरूलाई सवारी धनिले आपनो सवारी साधन नदिने, चालक अनुमति प्राप्त नगरेका व्यक्तिहरूले सवारी साधन नचलाउने, लापरवाहीका साथ तीब्र गतिमा सवारी साधन नचलाउने’, ट्राफिक प्रहरीले सवारी चालकका लागि जारी गरेको अनुरोधमा उल्लेख छ, ‘आफु यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पुर्व जानकारी लिने, रातको समयमा सडकमा छाडा चौपायाहरू हुन सक्छन् भन्ने हेक्का राखेर सवारी चलाउने, सडकमा राखिएका सडक संकेत चिन्हहरू हेरेर सवारी चलाउने ।’
ट्राफिक प्रहरीले बाटो काट्ने व्यक्तिहरूलाई पहिलो प्राथमिकता दिन, सवारी साधन चलाउनु अघि सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी चलाउन, हतारमा सवारी नचलाउन, जथाभावी ओभरटेक नगर्न, तोकिएको निश्चित स्थानमा मात्र सवारी रोक्ने तथा पार्किङ गर्न आग्रह गरेको छ ।
प्रहरीले सवारी चलाउँदा मोबाइल फोनमा कुराकानी नगन, अन्य सवारी साधनसँग प्रतिस्पर्धा गरेर सवारी नचलाउन, सवारी साधन चलाउँदा सडकमा रहेका खाल्डाखुल्डिहरू तथा सडकको अवस्था समेतलाई ध्यान दिएर सवारी चलाउन, बाक्लो हुस्सु लागेको समयमा हेडलाईट बालेर विस्तारै आपनो साईडबाट सवारी चलाउन, रातको समयमा टल्किने कपडा लगाएर सवारी चलाउन आग्रह गरेको छ ।