मूल्य समायोजन गर्न व्यवसायीको माग

भारतसँगको खुला सीमानाका कारण चोरी निकासी बढेको र त्यसले नेपालगन्जको बजार व्यवसाय चौपट भएको गुनासो व्यवसायीहरूले गरेका छन् ।

शनिबार नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघको १२औं बार्षिक साधारणसभा तथा छैठौं अधिवेशन उद्घाटन कार्यक्रममा वक्ताहरूले चोरी, तस्करी रोक्न नसकेकाले व्यवसाय चौपट भएको गुनासो गरे । अधिवेशन उद्घाटन गर्दै प्रमुख अतिथि, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले चोरी निकासी नियन्त्रण गर्न नसक्ने राज्य संयन्त्रले कम्तिमा भन्सार मूल्य समायोजन गरेर बजार जोगाउने योजना ल्याउन माग गरे ।

‘भन्सार मूल्यांकनलाई वैज्ञानिक बनाएर समायोजन गर्न सकियो भने चोरी निकासी स्वतः कम हुन्छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य मन्सुरीले भने ।

अधिवेशनले फणाधर भण्डारीको नेतृत्वमा कार्यसमिति निर्वाचन सर्वसम्मत गरेको छ । नवनिर्वाचित कार्यसमितिमा श्याम सुन्दर अधिकारी वरिष्ठ उपाध्यक्ष, प्रमोद अग्रवाल किराना तर्फका उपाध्यक्ष, मख्खन धामी खाद्य, अब्दुल जलिल मन्सुरी उपाध्यक्ष र इन्दिरा शाही महिला उपाध्यक्ष चयन भए ।

संघको महासचिवमा तोप बहादुर थापा, सचिव विनोद गुप्ता र कोषाध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । खिमलाल अधिकारी वरिष्ठ सदस्य र रशिद हलवाई प्रवक्ता चुनिएको किरानामा विरेन्द्र कुमार बानिया, बसन्ती रोकाय, सञ्जय कौशल, सुनिता ओली, दिनेश गुप्ता, रञ्जिता श्रेष्ठ, खेम माझी, तुलसा थापा, जगन्नाथ कंडेल र लक्ष्मण गिरी कार्यसमिति सदस्य चयन भएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष श्याम सुन्दर अधिकारीले जानकारी दिए ।

खाद्य तथा किराना व्यवसायी संघले स्वदेशी उत्पादन र स्वदेशमै कारोबारको भावनालाई विकास गर्दै अगाडि बढाउने योजना पनि अघि सारेको वरिष्ठ उपाध्यक्ष अधिकारीले बताएका छन् ।

Exit mobile version