पुल बन्ने भएपछि खजुराबासी उत्साहित

मन्त्री दाहालले भने, ֥ किस्मत जी ले धेरै पहल गर्नु भो’

लामो पहलपछि नेपालगन्ज– गुलरिया फोरलेन हुलाकी राजमार्ग अन्तरगत बाँकेको खजुरा स्थिति पेडारी नालामा पुल निर्माण हुने सुनिश्चित भएपछि खजुराबासी उत्साहित भएका छन् ।

सोमबार पुल अवलोकन गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको टोलीलाई खजुराबासीले स्वागत गरेका छन् । पुल निर्माण हुने स्थलमै पुगेर नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका पार्टीका सांसद, केन्द्र, प्रदेश तथा स्थानीय नेता कार्यकर्ता, खजुरा गाउँपालिका अध्यक्ष तथा जनप्रतिनिधिले खुसीले स्वागत सम्मान गरेका हुन ।

लामो समयसम्म पुल नबन्दा खजुराबासी र सो पुल भएर आवतजावत गर्ने सवारी साधनले ठूलो सास्ती खेप्दै आएका छन् । हालै मात्र अर्थमन्त्रालले बजेट स्वीकृति दिएपछि पुल निर्माण हुने सुनिश्चित भएको हो । खजुरा गाउँपालिकाका पूर्व अध्यक्ष तथा नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य किस्मत कुमार कक्षपति फोरलेनको सडकमा सोही अनुसारको फराकिलो पुलका लागि पहल हुँदै आएकोमा अब पुल बन्ने कुराको सुनिश्चित भएको बताउँछन् ।

हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका प्रमुख लिला भण्डारीले करीब १२ करोडको लागतमा ३३ मिटर लम्बाई र २२ मिटर चौडाई रहने गरि पेडारी नालाको पुलको निर्माणका लागि स्वीकृति आएको बताए । उनका अनुसार एक महिनाभित्र टेण्डर प्रक्रियामा गएर यथाशक्य निर्माणको काम थालनी गरिने छ ।

वर्षौं जीर्ण रहेको उक्त पुलको ठाउँमा नयाँ निर्माण गर्नका लागि नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने केन्द्र प्रदेशका सांसददेखि नेता किस्मत कक्षपतिलगायतको भूमिका रहेको स्थानीयको भनाई छ । खजुरा ३ का महिला सदस्य देउमाया मगर्नीले फोरलेन सडक अनुसारको पुल निर्माणका कुराले खजुराबासीमा खुशीयाली छायाको बताइन ।

यता, पुल निर्माणको विषयलाई लिएर एक महिना पहिले मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केदार शर्मा र डिजी रामहरि पोख्रेललाई भेट गरेर तत्काल उक्त ठाउँमा पुल निर्माण कार्य अगाडि बढाउन पहल गरेपछि मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरि अगाडि बढाउन निर्देश दिएको सांसद दीपा शर्माले जानकारी दिइन । उनले बाँकेका विभिन्न विकास निर्माणका कामको अवलोकन गर्ने क्रममा गतवर्ष हुलाकी राजमार्ग अन्तरगत उक्त पुलको नाजुक अवस्था हेरेपछि पहल थालेको बताइन् ।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा बाँके ३ की इन्चार्ज शर्माले विकास निर्माणका योजना विशेषगरि अधुरा योजना आफ्नो नजरमा पर्ने गरेको बताइन् । उनले परसपुर–गैघाट सडक खण्डको निर्माण तत्काल अगाडि नबढाए ठेक्का रध्द गरेर भए पनि अर्को निर्माण कम्पनीमार्फत गर्नु पर्ने सुझाव सम्बद्ध निकायलाई दिएकी थिइन हाल सो सडक निर्माण शुरु भएको छ ।

यसैवीच खजुराको पेडारी नाला पुल अवलोकनमा पुगेका मन्त्री दाहालले किस्मत जी पटकपटक पुललगायतका विषयलाई लिएर आफु कहाँ झगझकाउन आएको पुलमै उभिएर बताए । यता, उक्त पुल निर्माणका लागि सबै दल तथा सम्बद्ध सबै निकायबाट पहल भएको देखिन्छ । गत ४ गते पुल निर्माण हुने सुनिश्चित भएपछि जस लिनेको होड पनि चलको छ ।

Exit mobile version