राप्ती सोनारीकी थारु महिला उमा स्वरोजगारतर्फ उन्मुख

बाँके राप्ती सोनारी गाउँपालिका वार्ड नं.–३ का उमाकुमारी थारु तीन महिने गरगहना बनाउने तालिम लिएपछि उहाँको जिवन नै परिवर्तन भएको छ । काठमाण्डौस्थित सानो पाइला नामक संस्थाले देशभरीबाट करिब एक दर्जन महिलालाई उक्त तालिम दिएर दक्ष बनाएको छ । उमा बाँकेबाट प्रतिनिधित्व गरि उक्त तालिम लिने अवसर राप्ती सोनारी गाउँपालिकाले जटायो । उहाँले तालिम लिएर अहिले पित्तलबाट निमार्ण हुने विभिन्न किसिमका गरगहना बनाउन थाल्नुभएको छ ।

घरको काममा मात्र सिमित रहनुभएकी उमा तालिम सिकेपछि जिवनशैली नै परिवर्तन भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो,–‘पहिला म अरुको अगाडी आफ्नो नाम समेत भन्न सक्दैन्थे, अहिले मजाले कुरा गर्ने भएछु, यो मेरो जिवनमा ठुलो परिवर्तन भएको छ, गाउँ घर छोडेर तीन महिना ठुलो शहर काठमाण्डौमा बसेर तालिम लिएपछि मैलो ठुलो संसार देखे’ उहाँले भन्नुभयो ।’

अब म सिप सिकेर व्यवसाय गर्न सक्ने भएछु, अलिकति आर्थिक सहयोग भएमा यसलाई आफ्नो व्यवसाय बनाउनेछु उहाँले भन्नुभयो । तालिम दिने संस्थाले उहाँले उत्पादन गरेको सामाग्री खरिद गर्ने र प्रशिक्षकको रुपमा प्रयोग गर्ने उहाँले बताउनुभयो । अहिले शुरुमा करिब डेढ लाखको लगानीबाट व्यवसाय शुरु गर्ने योजना बनाएको उहाँ बताउनुहुन्छ ।

उक्त तालिममा सहभागी पठाउन पालिकालाई अनुरोध गरेपछि उमालाई छनौट गरि तालिममा सहभागिताका लागि पठाइएको गाउँपालिकाले जनाएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाले महिला स्वरोजगारको कार्यक्रमलाई प्रभावकारी बनाएको छ । महिलाहरुलाई व्यवसायिक रुपमा आत्मनिर्भर बनाउन सिप सिकाएको छ । ज्ञान, सिपको माध्यमले महिलाहरुलाई घरमै बसेर सफल व्यवसाय संचालन गर्ने उद्देश्यले सिपमुलक कार्यक्रमलाई जोड दिइएको गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताउनुभयो । उहाँका अनुसार महिलाहरुलाई शसक्तिकरण गरि सिप सिकाएर आर्थिक रुपमा सबल बनाइने छ ।

राप्ती सोनारी गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सय जनालाई एकमहिने थाकल र मकैको खोष्टाबाट टोपी बनाउने तालिम, र मखमलीको जुत्ता बनाउने एक महिने तालिम संचालन गर्न लागेको पालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सम्झना दलामीले बताउनुभयो ।

उहाँले पालिकामा रहेका विपन्न वर्ग, दलित, वादी, कुमाल, द्धन्द्धपिडितजस्ता महिलालाई विशेष प्राथमिकतामा राखेर स्वरोजगारतर्फ उन्मुख गराउन सिपमुलक कार्यक्रममा जोड दिइएको बताउनुभयो ।

Exit mobile version