सामाजिक सञ्जाल नियमन विधेयकप्रति पत्रकार महासंघ लुम्बिनी प्रदेशको आपत्ति

सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक २०८१ का कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण गराएको छ ।

महासंघका लुम्बिनी प्रदेश महासचिव पाण्डवप्रसाद शर्माले विज्ञप्ति जारी गरेर सामाजिक सञ्जाललाई नियमन गर्ने, व्यवस्थित गर्ने र त्यसबाट अपराधजन्य कार्य रोक्ने पहल स्वाभाविक भए पनि प्रस्तावित कानुनले अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संगठन तथा भेला हुने स्वतन्त्रता र सञ्चार माध्यम प्रयोग गर्ने हक मा प्रतिकूल असर पार्ने खतरा देखिएको बताउनुभएको छ । विधेयकमा कठोर सजायसहितको फौजदारी कानुन बनाउन खोजिएको भन्दै महासंघले गहिरो चिन्ता व्यक्त गरेको छ ।

प्रस्तावित कानुनबारे आम सरोकारवाला पक्षसँग छलफल नगरी सरकार एकलौटी रूपमा अघि बढेको महासंघको निष्कर्ष छ । यसले सरकारको नियतमा आशंका उत्पन्न गराउनुका साथै नागरिकमा भय र चिन्ता थपिएको महासंघले जनाएको छ । महासंघले नागरिक हक र स्वतन्त्रतालाई सङ्कुचित गर्ने तथा नियन्त्रण गर्ने विधेयक अस्वीकार्य रहेको स्पष्ट पारेको छ ।

महासंघले नेपाल सरकार र संघीय संसदसँग मानव अधिकार, नागरिक हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनेगरी विधेयक परिमार्जन गर्न आग्रह गरेको छ । विज्ञप्तिमा संविधान विपरीत नहुने गरी र लोकतान्त्रिक अभ्यासलाई आत्मसात गर्दै मात्र विधेयक अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

Exit mobile version