नेपालगन्ज बसपार्कस्थित विद्युत रोडदेखि उत्तरतर्फको सडक स्तरोन्नति कार्य सुरु भएको छ ।
नगर प्रमुख प्रशान्त विष्टले सडक स्तरोन्नति कार्यको शुभारम्भ गरेका छन् । नेपालगन्जको वडा नम्बर ४ र १९ लाई जोड्ने यो सडकको अस्फाल्ट पीच गर्ने कार्य २०८२ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काम थालिएको हो ।
करीब १ किलोमिटर लामो र ८ मिटर चौडा उक्त सडकको स्तरोन्नति कार्यको ठेक्का निर्माण कम्पनी निरज एण्ड निराजन विल्डर्स नेपालगन्ज १८ ले पाएको छ । २ करोड बजेटमा निरज एण्ड निराजनले भ्याट बाहेक १ करोड १३ लाख ४४ हजार ७४ रूपैयाँमा ठेक्का पारेको हो । ५० प्रतिशत संघीय समपूरक र ५० प्रतिशत नेपालगञ्ज उपमहानगरपालिकाको लागतमा सडक स्तरोन्नति हुन लागेको इन्जिनियर चन्दनराज दासले बताए ।
अस्फाल्ट पीच सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले चासो र खबरदारी गर्नुपर्ने बताए । विष्टले सडक पूर्वाधार विकासमा नेपालगन्ज उपमहानगरपालिका पर्यत्नशील रहेको बताए । त्यस अवसरमा वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन लगायतको उपस्थिति थियो ।