आफ्नो जनसंख्या एकिन गर्दै वैश्य समाज

बाँकेमा रहेका वैश्य समाजको जनसंख्या एकिन गर्न आन्तरिक गणना सुरु गरिएको छ । कसौंधन वैश्य समाज मूल समितिले युवा तथा महिला मञ्च सँगको सहकार्यमा गणना सुरु गरेको हो । ‘जनसंख्या एकिन भयो भने त्यसका आधारमा उनीहरूको राजनीतिक, सामाजिक र आर्थिक अधिकारका लागि समाजले उपयुक्त एडभोकेसी गर्न सक्छ भन्ने हाम्रो विश्वास हो’, कसौंधन वैश्य समाज मूल समितिका अध्यक्ष सन्तोष कुमार वैश्यले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि सुनिता गुप्ताको संयोजकत्वमा समिति परिचालित छ ।’

अध्यक्षका वैश्यका अनुसार, बिहीबारसम्म झण्डै ६ सय घर परिवारको पारिवारिक विवरण संकलन गरिसकिएको छ । ‘पहिलो पटक यसरी पारिवारिक गणना भएकाले प्राप्त हुने तथ्य, तथ्यांकका आधारमा अन्य योजनाहरू बनाइनेछ’, अध्यक्ष वैश्यले नेपालगन्जका विभिन्न रुटमा समाजका पदाधिकारीहरू समेत पुगेर पारिवारिक विवरण संकलन भैरहेको जानकारी दिंदै भने, ‘यसले हाम्रो समाजलाई एकताबद्ध बनाउन पनि सहयोग पुग्छ भन्ने हाम्रो विश्वास हो ।’

कसौंधन वैश्य समाज मूल समितिले वैश्य समाजका धार्मिक, सांस्कृतिक, सामाजिक र राजनीतिक क्षेत्रमा विभिन्न सिर्जनात्मक गतिविधि गर्न आन्तरिक गणनाले सहयोग पुुर्याउने जनाएको छ । ‘हामी कति छौं भन्ने एकिन भयो भने योजना बनाउन सजिलो हुन्छ’, अध्यक्ष वैश्यले भने ।

Exit mobile version