लागुऔषध : एक सय ६५ पक्राउ

गत माघ १८ गते नेपालगन्जको जमुनाहबाट सुर्खेत र दैलेखका २ जना ११ ग्राम ४ सय ७० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक आयूश प्रसाद जोशीले जानकारी दिए । त्यस्तै गत पुस १२ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. ९ बाट एक जना ९६ ग्राम ४९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परे । गत मंसिर २८ गते पुष्पलाल चोकबाट ३ जनालाई प्रहरीले १ सय ५० ग्राम खैरो हिरोइन समेत नियन्त्रणमा लियो ।

भारतबाट आउने हरेक नागरिकको खानतलासी गर्न प्रहरीलाई सम्भव छैन । त्यसैले प्रहरीले लागुऔषधको सूचनाका लागि सुराकी परिचालन गरेको हुन्छ । त्यही सुराकीको आधारमा लागुऔषध सेवनकर्ता तथा कारोबारी समातिने गरेका हुन् । बाँकेमा बाँकेमा मात्रै नभएर अन्य जिल्लाबाट लागुऔषध लिन आउने सेवनकर्ता तथा कारोबारी समातिने गरेको पछिल्लो प्रहरीले लागुऔषध सम्बन्धमा पक्राउ गरेका घटनाबाट देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, बाँकेमा चालु आ.व.को ६ महिनामा मात्रै १ सय ६५ जना लागुऔषध सहित पक्राउ परेका छन् ।

बाँके प्रहरी तथ्यांक अनुसार, साउन महिनामा लागू औषध ओसारपसार बिरुद्ध योजनाबद्धरूपमा प्रहरी परिचालन गरी ८५ ग्राम १०० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १ सय ६५ ट्याब्लेट, ट्रामाडोल ७३ ट्याब्लेट लागू औषध सहित ४४ जना ओसारपसारकर्ताहरूलाइ कानूनी दायरामा ल्याइएको छ ।

त्यस्तै भदौंमा ८३ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम १ हजार १ सय ३० ट्याब्लेट, ट्रामाडोल ६११ ट्याब्लेट लागू औषध सहित २२ जना, असोजमा ३ सय ६३ ग्राम ३०० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम २८ ट्याब्लेट, ट्रामाडोल ९८ ट्याब्लेट लागू औषध सहित ३० जना, कार्तिकमा २८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम २ सय ८ ट्याब्लेट लागू औषध सहित २४ जनालाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको हो ।

त्यस्तै, मंसिरमा १ सय ६१ ग्राम ९५० मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम ८० ट्याब्लेट र ट्रामाडोल ४३६ ट्यावलेट लागू औषध सहित १६ जना र पुसमा २ सय ६८ ग्राम ५६ मिलिग्राम ब्राउन सुगर, नाइट्राजेपाम ८ ट्याब्लेट र ट्रामाडोल ३ सय ६७ ट्यावलेट लागू औषध सहित २९ जनालाई प्रहरीले लागुऔषध सहित नियन्त्रणमा लिएको तथ्यांक छ ।

भारतसँग खुला सीमाना भएकाले लागुऔषध ओसार्नका लागि बाँके ‘ट्रान्जिट’ का रूपमा पाइएको बताइन्छ । भारतसँग ६९ किलोमिटर खुला सीमा रहेको बाँकेमा बाँकेका मात्रै नभएर अन्य जिल्लाका सेवनकर्ता र कारोबारी समेत आउने गरेका छन् । भारतको रूपैडिहामा खुलेआम बिक्री हुने ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम जस्ता लागुऔषध खरिद गरेर लागुऔषध कारोबारीले नेपालका विभिन्न जिल्ला पुर्याउने गरेका छन् ।

सबै औषधीहरू चिकित्सकको सिफारिस बिना बिक्री गर्न पाइँदैन । औषधीमै पनि चिकित्सकको सल्लाह बिना प्रयोग गर्न नहुने लेखिएको हुन्छ । किनभने कतिपय औषधीहरू बिरामीको उपचारका लागि मात्रै नभएर लागुऔषधका रूपमा पनि प्रयोग हुनसक्छन् । कतिपय औषधी नेपालमा प्रतिबन्ध रहेको छ भने भारतमा छैन । जस्तै, खोकीको औषधी कोरेक्स नेपालमा बिक्री गर्न पाइँदैन भारतमा बिक्री हुन्छ । कोरेक्स लागुऔषधका रूपमा प्रयोग हुने गरेको छ ।

सीमावर्ती भारतीय बजार रूपैडिहामा रहेका मेडिकलले चिकित्सकको सिफारिस बिना नै बढी मूल्य लिएर नाइट्रोजेपाम, कोरेक्स जस्ता औषधी बिक्री गर्दछन् । जुन लागुऔषधका रूपमा प्रयोग हुने गरेको हो । त्यहाँ कुनै निगरानी र कारवाही नहुँदा निर्बाध रूपमा लागुऔषधको कारोबार फष्टाइरहेको छ ।

Exit mobile version