आज नरैनापुरमा मेला

नरैनापुर गाउँपालिका वडा नं.२ मियाँपुरवा गाउँ स्थित हरेक वर्ष आयोजना हुँदै आएको मेला यसवर्ष पनि भब्य रूपमा आयोजना गरिएको छ । खलीफा सैयद नूर अहमद शाह मेलाको नामले परिचित मेला नरैनापुरको ऐतिहासिक मेला हो । पछिल्लो समय खासगरि मुस्लिम समुदायलाई लक्षित गरि आयोजना गरिएको मेला अहिले सद्भावको अर्को प्रतीक बनेको छ । मेला विधिवत रूपमा आज सोमवार उद्घाटन भई एक साता सम्म विभिन्न कार्यक्रमका साथ चल्ने बताइएको छ ।

सात दिन सम्म चल्ने मेलामा विभिन्न परिकार, उपभोग्य सामाग्री, फलफूल, कला, संस्कृतिको सहजै अवलोकन गर्न सकिन्छ । यो मेला नरैनापुरकै पुरानो र ऐतिहासिक मेला हो, दैनिक नेपालगन्ज संग कुरा गर्दै नरैनापुर गाउँपालिका अध्यक्ष सैयद ईस्तियाक अहमद शाहले भने, नरैनापुरलाई भारतीय क्षेत्रमा चिनाउने र सद्भावको एउटा उदाहरण दिने यो मेलामा सबै समुदायको सहभागिता रहँदै आएको छ ।

आइतबार उर्सको रूपमा मनाइएको मेला सोमवार देखि एक साता निरन्त चल्ने तयारी गरिएको छ, नरैनापुर गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष मसूद अहमद शाहले भने, मेला नरैनापुरको एउटा पहिचान पनि हो ।

मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम संगै विशेष आकर्षणको रूपमा आलिया इण्डियन फलक नियाजी कौवाल रासीद नियाजी नैनीताल उत्तराखण्डको आयोजनामा कौवाली प्रतिष्प्रधा कार्यक्रम गर्ने तयारी रहेको छ ।

मौलिक परम्परा गागर उठाउने कार्यक्रमका साथ शुभारम्भ हुने मेलामा भारतीय क्षेत्रका दर्शकहरूको पनि विशेष सहभागिता रहँदै आएको छ । विभिन्न कला, संस्कृति र मौलिकताले सजिएको मेला नरैनापुर र सिमावर्ती भारतीय क्षेत्रका लागि विशेष आकर्षणको केन्द्र रहँदै आएको छ ।

मेला उद्घाटनको अवसरमा नरैनापुर गाउँपालिकाले सोमबार नरैनापुर क्षेत्रमा आकस्मिक सेवा बाहेक एकदिने स्थानीय विदाको घोषणा गरेको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए ।

Exit mobile version