सजल गैरे
बाल बिबाहबाट आफुलाई परेको असर बारे बुझेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ की राधिका भाटले नेपाल सरकारका प्रधानमन्त्रीलाई सोमवार पत्र पठाउँदै भनिन्, ‘सानैमा विवाह गर्दा मेरो सपना पनि पुरा हुन सकेन, करिअर पनि राम्रो बनेन, त्यसैले बालविवाह राम्रो होइन रहेछ ।’
विवाहको अर्काे वर्ष आमा बनेकी किशोरी राधिकाले पढाइ छुटेको लगायतका कुरा सुनाउँदै भावुक हुँदै भनिन्, ‘१८ वर्षमा आमा बन्नुपर्दा मेरो स्वास्थ्यमा निकै समस्या आयो, २० वर्षअघि विहे गर्ने छुट कानुनतः नदिनुस् ।’
‘हाम्रो उमेर पढ्ने हो, सन्तान जन्माउने होइन,’ राधिका जस्तै नेपालगन्जका ४० किशोरीहरूको एउटा समूहले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना भावनात्मक पत्र लेख्दै विवाहको उमेर २० वर्ष पारिनै कायम राख्न ध्यानाकर्षण गराएका हुन् ।
ज्योति किशोरी समूहकी सरीता भाटका कुरा पनि निकै मर्मस्पर्शी छन् । ‘आमा वुवाले हाम्रो ख्याल राख्ने बेला हामी श्रीमान, सासु ससुराको ख्याल राख्न पुगियो भने जीवन कसरी अगाडी बढ्ला ? सरीताले प्रधानमन्त्रीलाई भनेकी छन्, ‘२० वर्ष अघि विहे गर्ने कुरालाई कुनैपनि हालतमा बैधता नदिइयोस् ।’
नेपालगन्ज उप–महानगरपालिका वडा नं. १४ र १५ का ति ४० किशोरीहरूले प्रधानमन्त्रीलाई पत्र लेख्दै विवाहको कानुनी उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउने बहसमा आफ्नो स्पष्ट विमति राखेका हुन् ।
किशोरीहरूको भविष्यमाथि खेलबाडजस्तै देखिएको बहसले नकारात्मक परिणम दिने आशंका गर्दै उनीहरूले सामुहिक चिन्तालाई प्रधानमन्त्री समक्ष पुर्याएको फातिमा फाउण्डेशन नेपालका अध्यक्ष मैमुना सिद्दीकीले जानकारी दिइन् ।
फातिमा फाउण्डेशनद्वारा स्थापित ‘बालिका विकास किशोरी समूह’ र ‘ज्योति किशोरी समूह’मा संगठित ति किशोरीहरू समाजमा शिक्षाको ज्योति बाल्न, आफ्ना अधिकार सुरक्षित गर्न सक्रिय छन् । ‘उनीहरू समाजमा बालविवाहविरुद्ध लड्न कटिबद्ध छन्,’ फातिमाका प्रतिनिधि उमेश गुप्ता भन्छन्, ‘आज उनीहरू केवल समूहका सदस्य मात्र होइनन्, नयाँ युगका आवाज बनेका छन् ।’
पत्राचार गर्ने समूहमा सबैभन्दा कलिलो उमेरकी सविना टमटा कानुनी उमेर हद घटाउदा विहेको सामाजिक दबाब बढ्ने चिन्तामा देखिइन् । ‘हाम्रो उमेर पढ्नको लागि हो, स्वास्थ्य जोखिममा पार्न होइन,’ प्रधानमन्त्रीलाई लेखिएको पत्रमा सहमत सविना भन्छिन्, ‘यसैपनि विहेपछि चेलीहरू पछाडी परेका छन्, किशोरावस्थामै विहे भयो भने हामीसस्ता सपना बोकेकाहरूपनि पछि परिन्छ ।’ उनले उमेरको अपरिपक्वतामा हुने विवाहले शारिरिक रूपमा पर्ने हानीबारे पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छन् ।
प्रधानमन्त्री कार्यालयलाई सम्बोधन गरि सोमवार जिल्ला हुलाक कार्यालयमार्फत पठाइएको पत्रमा किशोरीहरूले प्रष्ट सन्देश दिएका छन्, ‘हामीलाई जबर्जस्ती विवाहमा नधकेल्नोस्, हामीलाई शिक्षित बन्न दिनोस् ।’ उनीहरूले पत्रमार्फत सरकारको ध्यानाकर्षण गर्दै विवाहको उमेर घटाइएमा निम्न परिणामहरू आउने उनीहरूले औंल्याएका छन्,
शिक्षाबाट बञ्चित हुने जोखिमः विवाहको उमेर घटेपछि परिवारबाट दबाब आउन सक्छ, जसले गर्दा उनीहरू आफ्नो पढाइ छोड्न बाध्य हुनेछन् ।
स्वास्थ्य संकटः १८ वर्षमा गर्भधारण गर्दा शारीरिक रूपमा महिलाहरू पूर्ण रूपमा सक्षम नहुने भएकाले असुरक्षित मातृत्व मृत्यु दर बढ्न सक्छ ।
बालविवाहलाई वैधताः २० वर्षकै उमेर हुँदा समेत समाजमा बालविवाह भइरहेका छन्, उमेर झन् घटाइएमा यसले व्यापकता पाउनेछ ।
प्रधानमन्त्री कार्यालयलाई लेखिएको पत्रमा किशोरीहरूले प्रश्न गर्दै भनेका छन्,
के तपाईंहरू हामीलाई शिक्षित देख्न चाहनुहुन्छ कि चाँडै विवाह गराएर गृहस्थीमा बाँधिन बाध्य पार्न चाहनुहुन्छ ?
हाम्रो स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी कसको हो ?
बालविवाह अन्त्य गर्ने भनेर अभियान चलाइरहँदा, उमेर घटाउने बहस किन ?
देशका विभिन्न भाग, खासगरि तराई मधेशका विभिन्न जिल्लामा विवाहको उमेरबारे कानुनी दायरा सुधारको दबाब छ । बाँकेकै जानकीका सयौं अभिभावकहरूको सहभागितामा नेपालगन्जमै विवाहको कानुनी उमेर घटाउन दबाबमूलक प्रदर्शन गरिएको धेरै भएको छैन । यसलाई किशोरीहरू आफ्नो अधिकारविरुद्धको कदम भन्दै आएका छन् ।