पूर्ण क्षमतामा ‘सिटी प्यालेस’

नेपालगन्जमा अर्को पाँच तारे होटल सञ्चालनमा आउने भएको छ । धम्बोझी स्थित सिटी प्यालेसले आफुलाई पूर्ण क्षमतामा पुुर्याएर पाँच तारे होटलका रूपमा सञ्चालनमा आउने उद्घोष गरेको हो ।

‘नेपालगन्जका लागि आफ्नै मौलिकता र पहिचानका साथ पाँच तारे होटल सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भएको छ’, होटल सिटी प्यालेसका प्रबन्ध निर्देशक लोकेन्द्र अर्यालले दैनिक नेपालगन्जसँग भने, ‘स्थानीय स्तरमा गौरव गर्न लायक गन्तव्यका रूपमा सेवाग्राहीहरूले अनुभूत गर्नुहुनेछ ।’ त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको र पूर्वाधार समेत निर्माण कार्य पूरा भएको प्रबन्ध निर्देशक अर्यालले जानकारी दिए ।

झण्डै एक दशकदेखि सञ्चालनमा रहेको होटल सिटी प्यालेसले सय करोड बढीको लगानी थप गरेर पाँच तारे होटल सञ्चालनमा ल्याउने भएको हो । ‘त्यसका लागि १ सय २५ जना जनशक्ति व्यवस्थापन गरिएको छ’, होटल सिटी प्यालेसका महाप्रबन्धक पदम सुवेदीले भने ।

होटलले त्यसबारे जानकारी दिन शुक्रबार नेपालगन्जका पत्रकारहरूसँग अन्तरक्रियात्मक छलफल भेटघाटको आयोजना गर्यो । कार्यक्रममा आफ्नो प्रस्तुति दिंदै महाप्रबन्धक सुवेदीले सिटी प्यालेसभित्र थकाली भान्सा, रूफ टप रेष्टुरेन्ट, बार, क्याफे लगायत ९५ रुम, स्वीमिङ्ग पुल, ६ सय बढी क्षमता सहितको सभा हल सहितको सेवा सञ्चालनमा आएको जानकारी दिए । महाप्रबन्धक सुवेदीका अनुसार, होटलमा आठ वटा स्वीट रुम छन् ।

‘यसबीच हामीले पाँच लाख बढी पाहुनालाई सेवा प्रवाह गरिसकेका छौं’, सञ्चालनयताको एक दशकमा प्राप्त उपलब्धीबाट उत्साहित भएको संकेत गर्दै प्रबन्ध निर्देशक अर्यालले दुई लाख पाहुना सार्क मुलुकबाट र तीन लाख पाहुना नेपाली नागरिक होटलमा आएको तथ्यांक प्रस्तुत गरे ।

महाप्रबन्धक सुवेदीले एउटै परिसर भित्र होटल तथा रेष्टुरेन्ट क्षेत्रका पारखीलाई सबै प्रकारको आतिथ्य प्रदान गर्ने गरी सिटी प्यालेसले सेवा बिस्तार गरेको जानकारी दिए । ‘हरेक इभेन्टलाई व्यवस्थापन गर्न सक्ने जनशक्ति, पूर्वाधार र उपकरण हामीसँग छ’, सुवेदीले पाँच तारे होटलका लागि आवश्यक सबै मापदण्ड पूरा गरेर बसेको जानकारी दिंदै भने ।

Exit mobile version