बाँकेको खजुरामा दुई करोड बढी लगानी थप गरेर खजुरा एग्रो प्रा.लि.ले डेरी सञ्चालनमा ल्याएको छ ।
एक महिना यता आफ्ना ५० वटा उन्नत जातका भैसी पालेर खजुरा एग्रोले डेरी सञ्चालनमा ल्याएको हो ।
नेपालगन्जमा बिक्री डिपोसँगै चिलिङ भ्याट स्थापना गरी घरघरमा दुध पुर्याउन सुरु गरेको खजुरा डेरीले चरणबद्ध लगानी बिस्तार गर्दै जाने जनाएको छ ।
‘बजारको माग र आवश्यकताका आधारमा लगानी थप्दै उत्पादन बिस्तार गर्ने योजना हो’, झण्डै पाँच बिगाह जमिनमा कृषि फर्म सञ्चालन गरिरहेको खजुरा एग्रो प्रा.लि.का अध्यक्ष राजु प्रसाद काफ्लेले दैनिक नेपालगन्जसँग भने, ‘अहिले दैनिक १ हजार लिटर दुध सहित बजार बिस्तार सुरु गरेको डेरीले एक बर्षभित्रै पाँच हजार लिटर क्षमता विकासको योजना बनाएको छ ।’
‘उत्पादनसँगै बजार बिस्तारको रणनीति लिएर अगाडि बढेका छौं’, खजुरा डेरीका प्रबन्ध निर्देशक शौरभ काफ्लेले छिट्टै थप भैसी ल्याएर उत्पादन बढाउने योजना सुनाउँदै भने, ‘आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ विदेश जाने योजनालाई छाडेर कृषि कर्ममा होमिएका छौं ।’
आइटीमा उच्च शिक्षा सकेका शौरभले डेरीको नेतृत्व गरेका छन् । ‘काम गर्न सक्यो भने कृषि क्षेत्रमा ठूलो सम्भावना छ भन्ने कुरा प्रमाणित गरेर देखाउने हाम्रो दृढता छ’, प्राविधिक रूपमा पनि अहोरात्र डेरी तथा कृषि फर्ममा सक्रिय रहेका चन्दन कुमार दत्तले भने, ‘गुणस्तरीय उत्पादन दिन सकियो भने बजारको कमी हुँदैन भन्ने कुरामा हामी ढुक्क छौं ।’
पाँच बर्षदेखि झण्डै पाँच विगाह जमिनमा कृषि कर्म सुरु गरेको खजुरा एग्रोले ३ विगाह जमिनमा घाँस खेती सुरु गर्दैछ । अध्यक्ष काफ्लेका अनुसार, घाँस खेतीसँगै भैसीको संख्या बढाउने योजना हो । ‘त्यससँगै स्थानीय किसानका उत्पादनलाई पनि डेरीले एकीकृत गर्दै बजारसम्म पुर्याएको छ’, अध्यक्ष काफ्लेले दुधलाई आवश्यकता अनुसारका परिकारमा परिणत गरी सेवाग्राहीका घरदैलोमा पुर्याउने योजना सुनाउँदै भने, ‘गर्मीमा अब कोक, फ्यान्टा, पेप्सी होइन नेपालीको आफ्नो उत्पादन र स्वास्थ्यजन्य मोही खाने हो ।’
खजुरा कृषि एग्रोले अर्गानिक तरकारी उत्पादनसँगै बिउबिजनमा काम गरिरहेको जनाएको छ । माछा, बट्टै, कुखुरा, टर्की लगायतका उत्पादनदेखि बजारीकरणको काम पनि भैरहेको जानकारी दिंदै अध्यक्ष काफ्लेले २० जनालाई हाल रोजगारी दिइरहेको खजुरा एग्रोले अप्रत्यक्ष रूपमा धेरै किसानलाई फाइदा दिइरहेको बताए । ‘कृषिमा सम्भावना छ भन्ने कुरा हामी प्रमाणित गर्दैछौं’, अध्यक्ष काफ्लेको भनाइ थियो, ‘हाम्रा कामलाई देखेर स्थानीय किसानहरू पनि कृषि कर्मका लागि व्यवसायिक रूपले नै आकर्षित बनुन् भन्ने चाहना छ ।’