‘अध्यादेशको विरोध जनविरोधी कार्य’

oplus_0

नेकपा एमालेकी केन्द्रीय सचिव पदमा अर्यालले अध्यादेशको विरोध जनविरोधी कार्य भएको बताएकी छन् । मंगलबार नेपालगन्जको राँझामा सञ्चारकर्मीसँगको भेटघाटमा नेकपा एमाले लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेकी अर्यालले राष्ट्रिय आवश्यकता अनुसार जनताको पक्षमा काम गर्न सरकारले अध्यादेश ल्याएको बताएकी हुन् ।

‘जनताको पक्षमा काम गर्न फाष्ट ट्रयाकबाट राज्यको अनुभूति गराउन अध्यादेश आवश्यक थियो’, एमाले केन्द्रीय सचिव अर्यालले संवैधानिक व्यवस्था अनुसार नै अध्यादेश आएको बताउँदै भनिन्, ‘ढुक्क हुनुस् अध्यादेश पास हुन्छ ।’ उनले यसअघि पनि अध्यादेश आउने गरेको भन्दै जनताको आकांक्षा तत्कालै सम्बोधन गर्न, विकास निर्माणमा काम गर्न त्यसको आवश्यकता हुने भन्दै औचित्य पुष्टि गरिन् ।

अध्यादेश संवैधानिक व्यवस्था अनुसार नै पास हुने र त्यसका लागि अनुचित बाटोको प्रयोग नहुने नेतृ अर्यालले स्पष्ट पारिन् ।

त्यस्तै, नेकपा एमालेले जनताको समस्या बुझेर एकत्रित गरी समाधानमा लाग्नका लागि ‘जरा’ अभियान सुरु गरेको बताएकी छन् । अभियान अन्तर्गत एमाले वडा केन्द्रित भैरहेको अर्यालले जानकारी दिइन् ।

तीन महिने अभियानका क्रममा तीन वटा विषय प्राथमिकतामा राखिएको जानकारी दिंदै नेतृ अर्यालले भनिन्,‘पार्टी मोर्चा, जनसंगठन र प्रतिनिधि केन्द्रित हुनेछौं ।’

‘अभियानले पार्टी जनतासँग जोड्दै बलियो बनाउने छ’, सञ्चारकर्मीसँगको भेटमा प्रतिनिधिसभा सदस्य दिपा शर्माले भनिन्, ‘अभियान देशभरका वडा, टोलसम्म पुग्नेछ ।’

एमालेले जरा अभियान अन्तर्गत सदस्यता नवीकरण र विस्तार, टोल तहसम्म अधिवेशन गर्ने, कम्तीमा एक तिहाइ युवा समेट्ने, सबै जनसंगठनको सदस्यता व्यापक विस्तार गर्ने र सबै जनसंगठनलाई आफ्नो वर्ग÷समुदायको नेताका रूपमा स्थापित गर्ने, सामाजिक सञ्जालका नियोजित सूचना र भ्रम चिर्दै पार्टीको पक्षमा प्रचार गर्ने, सबै कमिटी र जनप्रतिनिधिले आफ्नो प्रचार डेस्क स्थापना गर्ने र प्रचार गर्ने रहेका
छन् ।

त्यस्तै, वार्षिक कार्यक्रमलाई अगाडि बढाउने, एमाले नेतृत्वमा रहेको संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार गर्ने, जनताका घर–आँगनसम्म पुग्ने, उनीहरूको सुझाव–गुनासो सुनेर समृद्धिको कार्यक्रम तयार पार्ने, २०८४ को चुनावमा एमालेलाई एकल बहुमत दिलाउने गरी राजनीतिक ध्रुवीकरण अभियान चलाउने, घर फर्क–पार्टी प्रवेश कार्यक्रममा जोड दिने, पार्टीको सिद्धान्त, कार्यक्रम र नीति बुझाउन प्रशिक्षण दिने, पार्टी नीतिको पक्षमा व्यापक जनमत बनाउने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले नेतृत्वको आवश्यकताबारे प्रचार गर्ने, र, तीन महिने अभियानको समीक्षाका आधारमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कार्यक्रम तयार पार्ने कार्य अभियान अन्तर्गत हुने बताइएको छ ।

Exit mobile version