शिक्षक आन्दोलित, सरकारलाई ज्ञापन

शिक्षकहरू आन्दोलित भएका छन् । देशभरका शिक्षकहरूले नेपाल शिक्षक महासंघको अगुवाइमा १७ बुंदे माग सहित आन्दोलित भएका हुन् । त्यसक्रममा मंगलबार महासंघले देशका ७ सय ५३ वटै पालिकामा खबरदारी जुलुस निकाल्दै स्थानीय सरकार प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । बाँकेका पालिकाहरूमा पनि महासंघले खबरदारी जुलुस सहित ध्यानाकर्षण गराउँदै १७ बुंदे माग पत्र बुझाएको छ । नेपालगन्जमा शिक्षक महासंघका नगर अध्यक्ष सुमोद रिजालको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको हो ।

खजुरा गाउँपालिकामा नेपाल शिक्षक महासंघ खजुरा अध्यक्ष माधव शर्माको नेतृत्वमा गएका शिक्षकहरूले पालिका प्रमुख डम्मर विकलाई ज्ञापनपत्र बुझाए । कोहलपुरमा शिक्षक महासंघका नगर अध्यक्ष निम प्रकाश थापाको नेतृत्वमा गएका शिक्षकहरूले नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाए । त्यस्तै, हातमा कालोपट्टी बाँधेर स्थानीय सरकारको ध्यानाकर्षण गराएका शिक्षकहरूले तलब भत्ता लगायतका सुविधा सँगै अध्ययन, अनुसन्धान र लेखन कार्यका लागि आर्थिक सहयोग समेत मागेका छन् । उनीहरूले कम्तिमा कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गर्न ध्यानाकर्षण गराएका छन् ।

शिक्षक संघको प्रदेश उपाध्यक्ष वीरेन्द्र यादवका अनुसार देशका सबै पालिकामा शिक्षक महासंघले ज्ञापनपत्र बुझाएको छ ।

Exit mobile version