नयाँ वर्षसँगै हुने भयो लुम्बिनी कप

नयाँ वर्षसँगै लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना हुने भएको छ । यसै फागुन १९ देखि २९ गतेसम्म नेपालगन्ज रंगशालामा हुने पूर्वघोषणा भएको प्रतियोगिता आगामी वैशाख ५ देखि तय भएको हो ।

आइतवार आयोजक अन्तरालले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको छ । ‘प्राविधिक कारणले प्रतियोगिताको मिति सार्नु परेको छ,’ अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले पत्रकारहरुसँग भने, ‘अब नयाँ मितिमा आयोजना हुने प्रतियोगितालाई हामी भव्य बनाउने प्रयास गर्नेछौं ।’

मैदानको स्तर उन्नती र स्थानीय खेलाडीहरुको लागि प्रशिक्षणको लागि थप समय मिलेको तर्क गर्दै शाहले प्राविधिक कारणले प्रतियोगिताको आयोजना मिति केहि पछि सरेको जानकारी दिंदै भने, ‘यसले प्रतियोगितालाई अझ स्तरीय र व्यवस्थापनमा पनि राम्रो गर्न सहयोग गर्नेछ ।’

अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलले महिला खेलको स्तरलाई माथि उकास्ने आयोजकले विश्वास लिएको प्रचार प्रमुख निरज गौतमले बताए ।

आयोजकका अनुसार, प्रतियोगितामा स्थानीय बाँके जिल्लाको टिम सहित ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितालाई लक्षित गरेर बाँके जिल्ला फुटबल संघले खेलाडी छनोट र प्रशिक्षण कार्यक्रमलाई अगाडी बढाइरहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताए ।

अध्यक्ष शाहीले बाँकेको महिला फुटबल टिमले धम्बोझी स्थित नेपाल प्रहरीको गुल्ममा प्रशिक्षण सुरु गरेको छ । फुटबल प्रशिक्षक सानु तामाङ र रबिन्द्र श्रेष्ठले स्थानीय खेलाडीलाई प्रशिक्षण गराइरहेको बताए ।

प्रतियोगिता हुने नेपालगन्ज रंगशालाको मैदानमा घास उमार्ने कार्य पनि भैरहेको बताइएको छ । प्रतियोगिता अवधि सम्म मैदानलाई पनि राम्रो बन्ने आयोजकले बताएको छ ।

पत्रकार सम्मेलनमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्द, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उप–समिति संयोजक तेजबिक्रम शाहले प्रतियोगितालाई ऐतिहासिक बनाउने लक्ष्य सहित काम गरिरहेको बताए । प्रतियोगितामा नेपालका चर्चित क्लबहरु, विभागीय टिम र भारतीय टिमलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

Exit mobile version