वर्तमान राज्य व्यवस्थाविरुद्ध नेपालगन्जमा खुलेर प्रदर्शन गरिएको छ । राप्रपाका नेताहरूले प्रदर्शनपछिको मञ्चमा हिन्दु राष्ट्रको कुरामात्रै गरेनन्, राजा ल्याएर छाड्ने सुनाए । उनीहरूले राजा ल्याउन ‘जनआन्दोलन–३’ सम्मका चेतावनी दिए । राजतन्त्र फाल्ने तत्कालिन जनआन्दोलनलाई गणतन्त्रवादीहरूले जनआन्दोलन–२ भनेका थिए ।
राप्रपाका महामन्त्री समेत रहेकां बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणानै आन्दोलन परिचालन कमिटीका संयोजक हुन् । जसको नेतृत्वमा उनकै निर्वाचन क्षेत्रमा संघीय लोकतान्त्रिक राज्य व्यवस्थाविरुद्ध, राजतन्त्रका पक्षमा प्रदर्शन भएको हो । डा. राणाले फागुनभित्र देशका ठूला शहरमा नेपालगन्जमा जस्तै प्रदर्शन गर्ने र चैत्रमा काठमाडौँ केन्द्रित आन्दोलन गर्ने बताए ।
‘चैत्रमा हामीले राजावादी, हिन्दुवादी दल, संघ संस्था सबैलाई एक ठाउँमा उभिन आह्वान गर्छौँ,’ दोस्रो जनआन्दोलनको बलमा बनेको संविधानबाट पहिले नेपालगन्जको मेयर र अहिले संघीय संसदमा चुनिएका डा. राणाले राजतन्त्रका पक्षधरहरूलाई आन्दोलनमा आउन आव्हान गर्दै भने, ‘त्यसपछि काठमाडौँ ठप्प गरेर जनआन्दोलन–३ सुरु गर्छौँ ।’ डा. राणा प्रतिनिधिसभा प्रवेशपछि जिल्लाको विकास भन्दा राजतन्त्रको वकालत र आन्दोलनमा समय दिइरहेको गुनासो निर्वाचन क्षेत्रमा व्याप्त छ ।
त्यही मञ्चमा राप्रपाका नेताहरू रवीन्द्र मिश्र, दिपकबहादुर सिंह, ज्ञानेन्द्र शाही, सलाउद्दिन जसगढ, राप्रपा नेपालका हिक्मत ढकाल, नेपाल शिव सेनाका किशोर लामाले देशका लागि हिन्दु राष्ट्र र राजसंस्था अपरिहार्य भएकाले सबै एक जुट हुनुपर्ने बताएका थिए ।
हिन्दु राष्ट्र पक्षधर, राजसंस्थावादी दल, संघ संस्थाको आह्वानमा नेपालगन्जमा मोटरसाइकल ¥याली भनिएको शक्ति प्रदर्शनमा ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्, राजा आऊ, देश बचाऊ, हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा–जनता एक होऔं’ लगायतका नारा लगाइएका थिए । नेपालगन्जको रामलिला मैदानबाट सुरु भएको ¥यालीले नेपालगन्ज बजार परिक्रमा गरेको थियो । नेपालगन्ज बजार परिक्रमापछि त्रिभुवनचोकमा गरिएको कोणसभा र प्रदर्शनका क्रममा सहरका मुख्यचोकको सुरक्षा तैनाथी ‘हाइ–अलर्ट’ राखिएको थियो ।