रोजगार मेला : तयारी तिव्र

रोजागर मेला २०८१ लाई लिएर आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ छलफलमा जुटेको छ । बाँकेका तीन वटै तहका सरकारको राष्ट्रिय अभियानका रूपमा रहेको स्थानीय रोजगारीलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेला उपलब्धीमूलक बनाउन सरोकारवालाहरू सँग छलफल अगाडि बढाइएको मेला संयोजक भीम रानाभाटले जानकारी दिए ।

त्यसक्रममा मंगलबार नेपालगन्ज किराना व्यवसायी संघका पदाधिकारीहरूसँग छलफल गरेको संघले निजी क्षेत्रका रोजगारदाता कम्पनीहरूसँग पनि निरन्तर संवाद गरिरहेको जनाएको छ ।

‘रोजगार मेलाको प्रभावकारिताका लागि सरोकारवाला सबैसँग छलफललाई तिव्रता दिएका छौं’, आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव समेत रहेका मेला संयोजक रानाभाटले दैनिक नेपालगन्जसँग भने, ‘मेलाको सफलताका लागि सबै पालिकाका रोजगार सेवा केन्द्र प्रमुख पनि सक्रिय रूपमा तयारीमा जुट्नु भएको छ ।’

बाँकेका सबै पालिकासँगको साझेदारीमा आयोजना हुने मेलामा सरोकारवालाहरू बीच ‘प्यानल डिस्कसन’ गरिंदैछ । ‘रोजगार मेलामा तालिम प्रदायक संघ, संस्थालाई समेत आमन्त्रण गर्नेबारे योजना बनाइएको छ’, नेपालगन्ज उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख मञ्जु ज्ञवालीले भनिन्, ‘शैक्षिक बेरोजगारहरूका लागि रोजगारको सुनिश्चितता तालिम प्रशिक्षणले सम्भव हुन्छ ।’ मेलामा सामाजिक सुरक्षा कोषबारे जानकारी दिने उद्देश्यले स्टल पनि राखिने ज्ञवालीले बताइन् ।

रोजगार मेलाका लागि दुई दिनसम्म भायोनेटले निशुल्क अनलिमिटेड इन्टरनेट सर्भिस कार्यक्रम स्थलमा उपलब्ध गराउने भायोनेटका प्रमुख भानुभक्त रेग्मीले जानकारी दिए ।

Exit mobile version