नौबास्तामा बनाउने भनिएको औद्योगिक क्षेत्र अहिले स्थानीयको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यसका लागि सहमति जुटाउन जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रशासन सहित सरोकारवालाहरूको बैठक बिहीबार भएको छ । जसले आइतबार सहमति जुटाएर सोमबारदेखि औद्योगिक क्षेत्रको काम अगाडि बढाउने भएको हो ।
एक प्रदेश एक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको नीति अनुरूप प्रदेश नं. ५ अन्तरगत बाँकेको नौवस्तामा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको कार्य स्थानीयको अवरोधपछि अगाडि बढ्न नसकेको भन्दै औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले नेपालगन्जमा सर्वपक्षीय सहमती जुटाएर अगाडी बढ्ने प्रयास गरेको छ ।
सरकारले नौवस्ता औद्योगिक क्षेत्र घोषणा गरेको झण्डै दशबर्ष बित्नै लाग्दा समेत स्थानीयको अवरोधले कुनैपनि काम अगाडि बढ्न नसकेपछि सर्वपक्षीय सहमती जुटाएर नौवस्ता औद्योगिक क्षेत्रको कामलाई तिब्रता दिन औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेड अगाडि सारेको छ ।
जग्गा अधिग्रहण गरि ३ सय ३८ विगाहा क्षेत्रफलमा गुरुयोजना बनाएर कार्य अगाडि बढाइएको अवस्थामा वस्ती ब्यबस्थापन हुनुपर्छ भन्ने स्थानीयको अवरोधले नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको काम अगाडी बढ्न नसक्दा औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले चासो देखाएको छ ।
२०७७ फागुन ११ गते तत्कालिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलेले शिलन्यास गरेको नौवस्ता औद्योगिक क्षेत्र परियोजना पटक पटकको अवरोधले हालसम्म कुनैपनि काम अगाडी बड्न नसकेको प्रति चासो देखाउदै औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले सहमती जुटाउन नेपालगन्जमा सर्वपक्षीय भेलाको आयोजना गरेको हो ।
पछिल्लो समय वस्ती र औद्योगिक क्षेत्र छुट्याउन सडक निर्माण गर्न खोज्दा स्थानीयको अवरोध पछि काम रोक्नुपर्ने अवस्था आएकाले परियोजनाको काम अगाडि बढ्न नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा आइतबार भएको बैठकले सबै राजनैतिक दल, सरोकारवाला, स्थानीय सरकारको उपस्थिति गराएर आगामी आइतबारसम्म सहमति जुटाएर वस्ती र औद्योगिक क्षेत्रबीचको सडक निर्माणको कार्यलाई सुचारु गर्ने सहमति भएको छ ।
स्थानीय वासिन्दा, राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय प्रशासनले जतिचाँडो सहमति दिन्छन् त्यसअनुसार निर्माण कार्यलाई कत्ती पनि ढिला नगरी औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले काम सुचारु गर्ने भन्दै आगामी सोमबार पछि निर्माण कार्य हुन नसक्ने औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडका महाप्रबन्धक ईन्जिनियर पदम ओली बताउँछन् ।
बैजनाथ गाउँपालिका ३ मा नौवस्ता औद्योगिक क्षेत्र निर्माण हुने भएकाले यसबाट यस क्षेत्रका जनताले प्रत्यक्ष रोजगारको अवसर पाउने र पालिकाको राजश्वको दायरा बढ्ने भन्दै वस्ती ब्यबस्थापन गरेर औद्योगिक क्षेत्र निर्माण गर्न स्थानीय सरकार तयार रहेको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही बताउछन् ।
३ सय ३८ बिगाह मध्ये हाललाई वस्तीले चर्चेको ५५ दशमलब ६ बिगाह जमिनलाई थाती राखेर बाँकी रहेको क्षेत्रमा औद्योगिक क्षेत्रको काम अगाडी बढाउने प्रकृया शुरु गरिनुपर्ने लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री बताउछन् ।
नौवस्ता औद्योगिक क्षेत्रमा रहेका वस्तीका जग्गा र औद्योगिक क्षेत्रको जमिन छुट्याउन सडक खोल्ने कार्यले सबै प्रकृया अगाडी बढ्ने बाँकेका प्रमुख जिल्ला अधिकारी धर्र्मराज जोशीले बताए । ३ सय ३८ बिगाह मध्ये हाललाई वस्तीले चर्चेको ५५ दशमलब ६ बिगाह जमिनलाई थाती राखेर बाँकी जमिनमा यो आर्थिक बर्षभित्र सबै प्राबिधिक कार्य सक्ने र पहिलेको डिपिआरलाई पुनरावलोकन गरेर बिकासका कामलाई अगाडी बढाउन औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले लक्ष्य राखेको छ । साथै निर्माणको कार्य शुरु गर्नलाई नेपाल सरकारले छुट्याएको पहिलेकै रकमलाई परिचालन गर्ने र तत्कालका लागि राज्यले नयाँ बजेट छुट्याउन सक्ने अवस्था नरहेको अवस्थामा अन्य दातृ निकाय लगानी गर्न इच्छुक रहेको समेत लिमिटेडले जनाएको छ ।