थानीय सरकारसँगको साझेदारीमा आज शुक्रबार र भोलि शनिबार नेपालगन्जमा ‘रोजगार मेला–२०८१’ आयोजना गरिंदैछ ।
नेपालगन्ज उद्योग वाणिज्य संघले सरकारसँगको साझेदारीमा पहिलो पटक रोजगार मेलाको आयोजना गरेको हो ।
‘रोजगारीको समस्या समाधानका लागि यो एउटा महत्वपूर्ण पहलकदमी हो’, आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने । अध्यक्ष धामीले रोजगारीको खोजीमा रहेका जनशक्तिलाई क्षमताका आधारमा रोजगारको सुनिश्चितता गर्ने, क्षमता नभएकाहरूलाई स्थानीय सरकारसँगको साझेदारीमा दक्षता अभिवृद्धि गरेरै रोजगारीसँग जोड्ने संघको योजना सुनाए ।
संघका अनुसार, दुई दिनसम्म चल्ने रोजगार मेलामा रोजगारदाता झण्डै तीन दर्जन कम्पनीले स्टल राख्नेछन् । ‘उहाँहरूले सकेसम्म रोजगारीको खोजीमा रहेकाहरूलाई आफ्नो आवश्यकताका आधारमा नियुक्ति समेत दिनुहुनेछ’, रोजगार मेला संयोजक भीम बहादुर रानाभाटले पत्रकारहरूसँग भने, ‘त्यसका लागि प्रत्येक कम्पनीसँग छलफल गरी उहाँहरूको आवश्यकता सूचिकृत गरिएको छ ।’
रोजगारदाता र बेरोजगार जनशक्तिलाई एकै ठाउँमा राखेर रोजगारी सिर्जना गर्ने, विद्यमान बेरोजगारी समस्या समाधान गर्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको संघले जनाएको छ । ‘सकेसम्म विदेश पलायन न्यूनीकरण गर्न यो आयोजनाले सहयोग पुर्याउँछ भन्ने हाम्रो विश्वास हो’, पत्रकार सम्मेलनमा आयोजना बारे जानकारी दिंदै संघका अध्यक्ष धामीले भने, ‘नीतिगत समस्याको सम्बोधन होस् भन्ने उद्देश्यले रोजगार सम्वाद समेत आयोजना गरिंदैछ ।’ जहाँ सम्बद्ध सरकारी निकाय, निजी क्षेत्रको प्रतिनिधित्व गर्ने नेपालगन्ज उद्योग वाणिज्य संघ, सम्बद्ध उद्योगी, व्यवसायी र नियामक
निकाय बीच रोजगारका सवालमा बहसमूलक संवाद गरिने आयोजकको भनाइ छ ।
‘यसपटक उद्योग, पर्यटन र कृषिका विषयमा तीन वटा छुट्टाछुट्टै रोजगार संवाद हुनेछन्’, रोजगार मेला व्यवस्थापन समितिका संयोजक समेत रहेका संघका महासचिव रानाभाटले भने । महासचिव रानाभाटले प्राप्त सुझावका आधारमा यसखालको आयोजनालाई निरन्तरता दिने विषयमा पनि छलफल भैरहेको बताए । बिहीबार बाँकेका पत्रकारहरू बीच रोजगार मेलाका विविध पक्षबारे आयोजकले जानकारी दिएको थियो ।
यसैबीच, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी र महासचिव भीम बहादुर रानाभाटले संयुक्त प्रेस विज्ञप्ति जारी गरी रोजगार मेलाको सफलताको सहभागिता आव्हान गरेका छन् ।
निःशुल्क उपलब्ध गराएको ३५ बढी स्टलमा रोजगारदाता कम्पनीहरूले आफ्ना रोजगारीको सेवा प्रवाहबारे जानकारी सँगै आवश्यक जनशक्ति नियुक्ति समेत गर्ने भएकाले रोजगारीको खोजीमा रहेकाहरूलाई निःशुल्क मेला अवलोकन गर्न संघले अनुरोध पनि गरेको छ ।
‘कम्तिमा एक सय जनालाई तत्कालै प्रत्यक्ष रोजगारीसँग जोडिने विश्वास गरेका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘रोजगारदाता र रोजगारीको खोजीमा रहेका व्यक्तिबीच प्रत्यक्ष सम्पर्क हुने भएकाले पनि मेला लगत्तै धेरै रोजगारीका अवसर सिर्जना हुने विश्वास हामीले गरेका छौं’, विज्ञप्तिमा उल्लेख छ ।
रोजगार मेलाले रोजगारदातालाई आवश्यक पर्ने श्रमशक्तिको पहिचान गर्ने भएकाले सोही अनुसारको सिपयुक्त जनशक्ति उत्पादनका लागि तालिम आयोजना गरेर रोजगारी सिर्जना गरिने प्रतिवद्धता संघले गरेको छ ।
‘त्यसका लागि स्थानीय सरकार, प्रदेश र संघीय सरकारका साथै रोजगारदातासँग सहकार्य गर्नेछौं’, संयुक्त प्रेस विज्ञप्तिमा अध्यक्ष धामी र मेला संयोजक समेत रहेका संघका महासचिव रानाभाटले प्रतिबद्धता जनाउँदै भनेका छन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष धामीले संघले अघि सारेको अवधारणामा स्थानीय सरकार सहमत भएर लगानीको वातावरण बनेको बताए । ‘त्यसैले दक्ष जनशक्ति उत्पादनमा सरकार र निजी क्षेत्र बीचको यो सहकार्यले रोजगारको अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ’, धामीले भने ।