बालबालिकालाई शिक्षासँगै संस्कार आवश्यक रहेकाले त्यसै अनुसार, मेरो टुकी प्रज्ञालयले आफ्नो शैक्षिक पाठ्यक्रमलाई अगाडी बढाएको जनाएको छ ।
प्रोफेसर हावर्ड गार्डनरले प्रतिपादन गरेको ८ बहुवौद्धिक क्षमताका आधारमा प्रज्ञालयले शैक्षिक पद्धतीको विकास गरेको संचालक प्रिन्सिपल कल्पना शर्माले बताइन् ।
२०७४ मा स्थापित प्रज्ञालयले शिक्षासँगै व्यवहार ज्ञान, प्रज्ञा, संस्कार र सिर्जना र मनोवैज्ञानिक समानतालाई प्राथमिकता दिएको संस्थापक संचालक भोजराज शर्माले बताउँछन् ।
शनिवार आफ्नो आठौं वार्षिकोत्सव विविध कार्यक्रम मनाइरहँदा मेरो टुकी प्रज्ञालय स्कुलका विद्यार्थी बालबालिकाले वार्षिकोत्सव समारोहमा विभिन्न नृत्य र सांस्कृतिक प्रस्तुति गरेका थिए । १७ वटा नृत्य र सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी प्रशिक्षक मनिषा परियारले गरेकी थिइन् ।
समारोहमा कक्षा १ सम्मका १६ जना बालबालिकाले सितोरियो कराँतेका विविध काँता प्रदर्शन गरेका थिए । प्रज्ञालयका अनुसार, बालिबालिकालाई कराँते प्रशिक्षक सकिल राइनले प्रशिक्षण दिंदै आएका छन् ।
शैक्षिक सत्र २०८१ सालमा विविध विधामा उत्कृष्ट बालबालिकालाई समारोहमा पुरस्कृत गरिएको थियो । प्रज्ञालयले प्रोफेसर हावर्ड गार्डनरले प्रतिपादन गरेको ८ बहुवौद्धिक क्षमताका आधारमा हरेक बालबालिकालाई मन्चमा बोलाई सम्मानित र पुरस्कृत गर्ने गरेको संचालक प्रिन्सिपल शर्माले बताइन् ।
प्रज्ञालयले हरेक बालबालिकालाई समान व्यवहार गर्ने उनको भनाइ थियो । बालबालिकालाई डां शंकर केसी, विनोद अग्रहरी, डा. सपना शर्मा, डा. नवीन तिमिल्सिना, संचालक प्रिन्सिपल कल्पना शर्मा तथा प्रज्ञालयका संस्थापक भोजराज शर्माले प्रमाणपत्र तथा उपहार प्रदान गरेका थिए ।
नेपालगन्जको धम्बोझीमा अवस्थित कक्षा ३ सम्म संचालन अनुमति पाएको प्रज्ञालय निजी शैक्षिक गुठी हो ।