नेपाली नयाँ वर्षको अवसरमा सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जले एकैसाथ तीन वटा म्यूजिकल ब्याण्डको प्रस्तुति दिने भएको छ ।
पहिलो पटक ‘नरेन लिम्बु एंड दी जेन्टलमेन’ आस्था ब्याण्डलाई नेपालगन्ज ल्याएको सोल्टीले ‘संघर्ष ब्यान्ड’ र ‘दी फिरन्ते ब्यान्ड’ लाई एउटै मञ्चमा उतार्ने भएको हो ।
विहीवार सोल्टीले पत्रकार सम्मेलनको आयोजना गरि दिएको जानकारी अनुसार, मेन एक्टमा ‘नरेन लिम्बु एंड दी जेन्टलमेन’ ब्यान्ड र अन्त्यतिर ‘डिजे अनोनीमस्’ले प्रस्तुति दिने कार्यक्रम बनाइएको ‘न्यु एयर इभ–२०८२’ मा कार्यक्रमको लाइन अप दाङको ‘संघर्ष ब्यान्ड’ले गर्ने बताइएको छ ।
यो वर्षको अन्तिम रात, ३१ चैत्र बेलुका ६ बजेबाट सुरु भएर मध्यरात १२ बजेसम्म चल्ने कार्यक्रमले नेपालगन्जमा बेग्लै मनोरञ्जन दिने विश्वास गरिएको सोल्टी वेस्टण्ड प्रिमियर नेपालगन्जका जनरल म्यानेजर राज विक्रम शाहले बताए । ‘हरेक वर्ष विशेष बनाउँदै लगिएको छ,’ पाँचसयबढीले टिकट बुक गरिसकेको जानकारी दिंदै शाहले भने, ‘थप दुई सय दर्शकको अपेक्षा गरेका छौं ।’
काठमाडौं र पोखरा बाहेकका शहरमा पनि ठुला इभेन्ट हुन सक्छ भन्ने सन्देश दिन यसखालको कार्यक्रम आयोजना गरिएको जनाउँदै शाहले कार्यक्रमबाट नेपालगन्जको पर्यटन क्षेत्रमा ब्राण्डीङ हुने विश्वास गरिएको बताए । उनले पर्यटकीय दृष्टिले पश्चिममा सरकारको भरभन्दा निजी क्षेत्रले आफै अग्रसरतामा केही गर्न सक्ने सम्भावना औल्याए ।