जानकी गाउँपालिकाका तत्कालीन हाकिम सिंहराजविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी डोल्पाको मुड्केचुला गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा आर्थिक वर्ष २०७६/७७ मा मड्केचुला गाउँपालिका-८ स्थित घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण योजनामा नगरेको कामको पनि उपभोक्ता समितिलाई रकम भुक्तानी गरेको आरोपमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

स्वीकृत गरे अनुसारको लागत अनुमानबमोजिम कार्य नगरी कम काम भएकोलाई बढी भएको भनी प्राविधिक मूल्याङ्‍कनसहितको नापी किताबमा प्रमाणित गरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई १० लाख ९७ हजार ८५२ रुपैयाँ भुक्तानी गरेको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारले उनीसँगै मुड्केचुला गाउँपालिका इन्जिनियर देवराज रावत, सव-इन्जिनियर दीपनारायण यादव, गाउँपालिकाको वडा नम्बर  ८ का तत्कालीन कार्यवाहक  वडाध्यक्ष धनबहादुर रोकाया, तत्कालीन कार्यपालिका सदस्य रामकुमार नेपाली (दमाई), वडा प्राविधिक (असिस्टेन्ट सबइन्जिनियर) इशारा बुढासहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

साथै, घुम्चो खोलादेखि महादेवसम्म सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर रोकाया र कोषाध्यक्ष निर्मला रोकायाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । सडक निर्माण योजनामा उपभोक्ता समिति र गाउँपालिकाबीच भएको सम्झौता अनुसार कार्य सम्पन्न भएको भनी उपभोक्ता समितिले कार्यसम्पन्न प्रतिवेदन,बिल भरपाई,डोरहाजिरीलगायतका कागजात पेश गरेको तर शर्त एवं सम्झौताविपरीत सम्झौताबमोजिमको कार्य नभई  भुक्तानी लिएको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Exit mobile version