नेपालगन्जबाट सद्भावको सन्देश देशैभरी

सेराज अहमद फारुकी
केन्द्रीय अध्यक्ष
नेपाल मुस्लिम इत्तेहाद संगठन

कसरी नेपालगन्जमा सातौं महाधिवेशनलाई ऐतिहासिक बनाउँदै हुनुहुन्छ ?
यसअघिनै छैठौं महाधिवेशन नेपालगन्जमा तयारी थियो । केही कारणले अन्तिम समयमा स्थान परिवर्तन गरी काठमाडौंमा छैठौं महाधिवेशन गरेका थियौं । छैठौं महाधिवेशन हतारहतार गरिएको थियो । त्यसकारण नेपालगन्जमा पहिलो पटक महाधिवेशन आयोजना गर्न लागेका हौं । भ्याली र वीरगन्जबाहेक पहिलो पटक नेपालगन्जमा महाधिवेशन हुन लागेको हो ।
नेपालगन्ज जुन कम्युनिटीवेशको इतिहास छ त्यसले पनि एउटा फोकस गर्ने काम हामीले पहिलेदेखि नै गरेको हो । हारुनजी लगायतको टिमले पहिलेदेखि नै प्लानिङ्ग गरिरहेको थियो ।
नेपालगन्जमा अधिवेशन हुँदाखेरि त्यसको इम्पेक्ट देशभरीको कम्युनिटीमा पर्छ । कम्युनिटीवेशमा जुन राजनीतिक चेतना जुन यहाँ छ त्यो नेपालगन्जलाई फोकस गर्ने एउटा कुरा हो ।

एजेण्डाको हिसाबले कसरी महाधिवेशन ऐतिहासिक होला ?
एजेण्डाको हिसाबले अहिलेको इन्डेक्समा सबभन्दा तल रहेको छ प्रत्येक क्षेत्रमा । चाहे त्यो सामाजिक होस्, राजनीतिक होस्, आर्थिक होस्, शैक्षिक होस्, सबै ठाउँमा हामी पछाडि छौं । त्यसको उत्थानका लागि सरकारले जिम्मेवारी लिनुपर्ने हो । सबै कुराको फोकस गर्नका लागि नेपालगन्ज उपयुक्त देखिएको छ । किनभने हाम्रो कम्युनिटीमा यहाँ राजनीतिक चेतना अन्य प्रदेश भन्दा, अरू सहर भन्दा नेपालगन्जको बाँकेको बढी देखिएको छ । म जिल्ला, प्रदेशको अधिवेशन हुँदा प्रत्येक ठाउँमा गएको हुन्छु । तर, नेपालगन्जको मुस्लिम कम्युनिटीको जुन चेतना छ राजनीतिप्रति, राम्रो देखिएका कारणले हाम्रा एजेण्डाहरू नेपालगन्जबाट फोकस गर्दा देशभरी नै असर पर्छ त्यो कारणले नेपालगन्ज छानेका हौं ।

तपाईहरूले तय गर्ने एजेण्डाको थान्को मात्रै लागिरहेको भनिन्छ नि ?
जुनसुकै देशमा होस्, सरकारले जो सबभन्दा पछाडि परेको समुदाय हुन्छ, उसको उत्थानका लागि सरकारले जिम्मा लिनुपर्छ । रियलमा जति हुनुपर्ने थियो त्यसमा कहीँ न कहीँ कमी अहिले देखिएको छ ।
हाम्रो संविधान बनेको नौं बर्ष भैसकेको छ । संविधान त बन्यो, त्यसमा अधिकारको कुरामा मुस्लिम कम्युनिटी सन्तुष्ट छौं, अधिकार जुन हिसाबले आएको छ । विधेयक, कानुन र ऐन बनाएर कार्यान्वयन गर्नुपर्नेमा त्यो चाहीँ अलिकति कमजोर देखिएको छ ।
अहिले संसदको बजेट सत्रमा दुई वटा विधेयक आउँदैछ । शिक्षा विधेयक र निजामति विधेयक । यी दुई वटै विधेयकले मुस्लिम कम्युनिटीलाई बढी छुने खालको छ । त्यो एजेण्डामा जति मदरसाहरू छन्, त्यसलाई व्यवस्थित गर्न राज्यले त्यसलाई आफ्नो अंग बनाएर लिएर जानुपर्ने हो । हाम्रो मदरसामा विद्यार्थीहरू पढिसकेपछि त्यसको मान्यता छैन । त्यसको इक्युभ्यालेन्ट सरकारको व्यवस्थापनमा अहिले पनि छैन ।
शिक्षा ऐन आइसकेपछि त्यसको सम्बोधन हुन्छ भन्ने विश्वास छ । शिक्षा विधेयक लागु गर्दा मदरसा व्यवस्थापनको धेरै कुरा आइहाल्छ भन्ने मलाई लाग्छ । हाम्रो माग मदरसालाई मेन स्ट्रिममा ल्याउनु पर्छ भन्ने हो । मदरसालाई सरकारको निगरानीमा व्यवस्थापनमा राख्नुपर्छ, त्यो हुँदा नानाथरीका नेगेटिभ कुरा समाप्त भएर जान्छ । हामीले अहिलेको संरचना बिगार्ने होइन, धार्मिक जुन संरचनालाई छ, त्यसलाई समेट्दै आधुनिक शिक्षामा पनि प्रवेश गर्नुपर्छ ।
संविधानमा धेरै कुरा आइसकेका छन् । त्यो आइसकेको कुरालाई कार्यान्वयनका लागि ऐन, कानुन, विधेयक चाहियो । सबभन्दा पहिला महाधिवेशनमा जुन संविधानमा मुस्लिम कम्युनिटीको अधिकारको कुरा छ, त्यसलाई कार्यान्वयनमा कसरी लैजाने, आवश्यक ऐन, कानुन, विधेयक कसरी आउने हो मेन एजेण्डा महाधिवेशनको त्यही हो ।

अहिलेसम्म किन सम्बोधन हुन सकेन ?
सरकारको स्थिरता नभएको कारणले ऐन, विधेयक, कानुन बनाउन ढिलाई भएको देखेको छु, म आफै पनि संसद भएकाले । दुई ठूला पार्टी मिलेर त्यसका लागि फाष्ट ट्रयाकमा काम गर्नुपर्छ । पहिले नै गर्नुपर्ने हो कहीँ न कहीँ ढिलाई भएको छ । देशभित्र पछाडि परेको वर्गलाई उत्थान गरिएन भने नेतृत्व कहिल्यै पनि सफल हुँदैन । पछाडि परेको समुदायलाई त्यसै छाडियो भने त्यसले समृद्धि आउन सक्दैन, त्यसकारण सरकारले पछाडि परेको समुदायलाई विशेष ध्यान दिनुपर्दछ ।

अन्त्यमा
सबभन्दा पहिला म मुस्लिम समुदायको भएकाले सद्भाव कायम गर्ने, यो देशमा भएका राष्ट्रवादी मुस्लिमहरू, यो देशमा सबै धर्मको सम्मान गर्दै हामी मिलेर चाहीँ जानुपर्छ, देश बनाउन मिलेर जानुपर्छ । कही न केही खराबी पनि हुनसक्छ, त्यसलाई हामी राष्ट्रवादी साथीहरू जुन प्रत्येक समुदायमा छन्, उहाँहरूले बोल्नुपर्छ । राम्रो मान्छे जुन समुदायको भएपनि आगाडि आउनुपर्छ, बोल्नुपर्छ । त्यो राम्रो कामका लागि अगाडि बढ्नुपर्ने हो । त्यो बोलिएन भने समाजपछि पछाडि पर्छ देश पनि पछाडि पर्छ ।
यहाँखासगरी एउटा परिवेश देख्दै आएको छु, सौहार्दपूर्ण तरिकाले प्रत्येक धार्मिक कार्यक्रमहरू सबै मिलेर गरिरहनु भएको छ, उहाँहरू, विशेषगरी नेपालगन्जबासी पुरै बाँकेलाई धन्यवाद दिन चाहन्छु । यहाँ देशभर मुस्लिम साथीहरूको जमघट हुँदैछ । त्यो तयारीमा यहाँका सबै साथीहरू लागिरहनु भएको एकमहिना देखि देखिरहेको छु । प्रत्येक समुदायबाट हामीले सहयोग पाइरहेका छौं । त्यसका लागि हामीहरू विशेष विशेष धन्यवाद दिन चाहन्छौं । नेपालगन्जबाट सद्भावको सन्देश देशभरी जाने हो, त्यसका लागि पनि विशेष धन्यवाद दिन चाहन्छु ।

Exit mobile version