बाँकेका आठ स्थानीय तहको बेरुजु ३५ करोड बढी

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन बुधबार सार्वजनिक भएको छ । महालेखाले आ.व. २०८०÷०८१ को लेखापरीक्षण गर्दा बाँकेका स्थानीय तहको ३५ करोड बढी बेरुजु सार्वजनिक गरेको छ । उक्त आ.व.मा बाँकेका आठ स्थानीय तहको बेरुजु रकम ३५ करोड ७८ लाख २८ हजारु रूपैयाँ रहेको प्रतिवेदनमा सार्वजनिक गरेको छ । जुन अघिल्लो लेखापरीक्षण गरेको ६१औं प्रतिवेदन अनुसारको बेरुजु रकम भन्दा करिब आधा हो । लेखापरीक्षणको अघिल्लो आ.व. २०७९÷८० को लेखापरीक्षण गर्दा बाँकेका स्थानीय तहको ६४ करोड बढी बेरुजु रहेको तथ्यांक सार्वजनिक गरेको थियो । त्यसअघिको आर्थिक बर्षमा महालेखाको ६० औं प्रतिवेदन जारी गर्दा बाँकेका आठ स्थानीय तहको ६९ करोड ५५ लाख बेरुजु औंल्याएको थियो ।

आर्थिक वर्ष २०७९÷८० मा महालेखाले बाँकेका आठ स्थानीय तहको कुल १६ अर्ब ८९ करोड ९७ लाख ३४ हजार बराबरको लेखा परीक्षण गरेको थियो । उक्त रकमको लेखापरीक्षक गर्दा महालेखाले ६४ करोड ७२ लाख ८५ हजार रकम बेरुजुमा राखेको छ ।

महालेखाले आ.व. २०८०÷०८१ मा १५ अर्ब ४९ करोड ३२ लाख १२ हजार रूपैयाँको लेखापरीक्षण गरेको थियो । अघिल्लो लेखापरीक्षण बर्षको तुलनामा राप्तीसोनारीको बेरुजु प्रतिशत उस्तै रहेपछि त्यसबाहेकका सात वटै पालिकाको बेरुजु रकममा ह्वात्तै कमी आएको छ ।

महालेखाले बुधबार सार्वजनिक गरेको आ.व. २०८०÷०८१ को प्रतिवेदन अनुसार, नेपालगन्ज उपमहानगरपालिकाको बेरुजु प्रतिशत २.२९, कोहलपुर नगरपालिकाको बेरुजु प्रतिशत १.६६ रहेको छ । त्यस्तै गाउँपालिकाहरूमा खजुराको बेरुजु प्रतिशत १.५०, जानकीको २.८६, डुडुवाको २.७२, नरैनापुरको ३.०२, बैजनाथको ३.३४, राप्तीसोनारीको २.०५ रहेको छ ।

महालेखाको आर्थिक वर्ष २०७९÷८० को लेखा परीक्षण प्रतिवेदनले नेपालगन्ज उपमहानगरपालिकाको बेरुजु प्रतिशत ४.०२, कोहलपुर नगरपालिकाको बेरुजु प्रतिशत ४.६७, खजुरा गाउँपालिकाको बेरुजु २.४७ प्रतिशत, जानकी गाउँपालिकाको बेरुजु प्रतिशत २.९४ रहेको थियो । त्यस्तै डुडुवा गाउँपालिकाको बेरुजु प्रतिशत ४.७८, नरैनापुर गाउँपालिकाको बेरुजु प्रतिशत ४.०२ प्रतिशत, बैजनाथ गाउँपालिकाको बेरुजु प्रतिशत ५.१३ र राप्तीसोनारी गाउँपालिकाको बेरुजु प्रतिशत २.०५ रहेको थियो ।

अघिल्लो आ.व. २०७८÷०७९ मा महालेखाले नेपालगन्जको बेरुजु प्रतिशत ५.२, राप्तीसोनारीको ५.३१, कोहलपुर नगरपालिकाको ६.२४, खजुरा गाउँपालिकाको २.४७, जानकी गाउँपालिकाको २.९२, डुडुवा गाउँपालिकाको २.४५, बैजनाथ गाउँपालिकाको ४.३२ र नरैनापुरको बेरुजु प्रतिशत २.७१ प्रतिशत रहेको औंल्याएको थियो ।

Exit mobile version