बाँकेमा ५५ हजार परिवारको स्वास्थ्य विवरण तयार

बाँकेमा ५५ हजार ८ सय २३ परिवारको पारिवारिक स्वास्थ्य विवरण तयार भएको छ । स्वास्थ्य कार्यालय बाँकेले बाँकेका आठ वटै स्थानीय तहमा गत बैशाख ३ गतेदेखि पारिवारिक स्वास्थ्य विवरण तयार गर्न घरदैलोमा पुगिरहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश बाबु श्रेष्ठले जानकारी दिएका छन् ।

बाँकेमा समुदाय स्तरको पारिवारिक स्वास्थ्य प्रोफाइल बनाउने अभियान सुरु गरिएको हो । मोबाइल मार्फत नागरिकलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने लक्ष्यका साथ बाँकेमा पारिवारिक स्वास्थ्य प्रोफाईल बनाउने अभियान सुरु गरिएको हो ।

प्रदेश सरकारको आयोजनामा लुम्बिनी प्रदेशका बाँके सहित पाल्पा र अर्घाखाँची जिल्लामा पारिवारिक स्वास्थ्य विवरण संकलनको काम भैरहेको हो ।

महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले बाँकेका ८ वटा पालिकाका ८१ वटै वडामा स्वास्थ्यकर्मी खटिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिएका छन् ।

तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले ४० दिन लगाएर जिल्लाका १ लाख २९ हजार २३४ घरधुरीमा पुगेर विवरण संकलन गर्ने योजना रहेको छ । यो २०७८ सालको जनगणना अनुसारको घर संख्याको तथ्यांक हो ।

घरघरमा पुग्ने स्वास्थ्यकर्मीहरूले घरमुलीको विवरणसहित मुख्यगरी गर्भवती, सुत्केरी र दुई वर्ष मुनिका बालबालिकाहरूलाई बढी प्राथमिकता दिनेछन् । उनीहरूको समयमै पहिचान गरी स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने र मातृ तथा शिशु मृत्युदर रोक्ने यो अभियानको मुख्य उद्देश्य रहेको श्रेष्ठको भनाइ छ । घरघरमा आउने स्वास्थ्यकर्मीहरूलाई विवरण उपलब्ध गराएर सहयोग गर्न पनि श्रेष्ठले आग्रह गरेका छन् । पारिवारिक स्वास्थ्य विवरण संकलन गर्नका लागि घरघरमा खटिने स्वास्थ्यकर्मीहरूलाई तालिम प्रदान गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेकी अधिकृत विष्णु श्रेष्ठले पारिवारिक स्वास्थ्य विवरण संकलन गर्न जाँदा स्वास्थ्यकर्मीले विभिन्न स्वास्थ्य मातृ, शिशु सम्बन्धी स्वास्थ्य सल्लाह पनि दिइरहेको जानकारी दिएकी छिन् ।

‘दुई बर्ष मूनिका बालबालिकाको पोषणको अवस्था, खोपको अवस्था, गर्भवतिको स्वास्थ्य परीक्षण, त्यसक्रममा स्वास्थ्य परीक्षण, सुत्केरी र सो पछिको अवस्थामा स्वास्थ्य चेकजाँच लगायतका विषयमा विवरण संकलन गर्न जाँदा क्लोज मोनिटरिङ्ग भैरहेको छ’, अधिकृत श्रेष्ठले भनिन्, ‘घरमा रहेको जनसंख्याको पनि एकिन तथ्यांक लिइरहेका छौं ।’ ‘मातृशिशु स्वास्थ्य बारे जानकारी लिने र स्वास्थ्य सल्लाह दिने कार्य विवरण संकलनका क्रममा भैरहेको छ’, उनले भनिन् ।

स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेश की सचिव दुर्गा लक्ष्मी श्रेष्ठले पारिवारिक स्वास्थ्य
विवरण संकलन अभियान सुरु गर्नु अघि स्वास्थ्य रणनीति तयार गर्नका लागि पारिवारिक स्वास्थ्य विवरण संकलन गर्न लागिएको बताएकी थिइन् । उनले लुम्बिनी प्रदेशमा मातृ तथा शिशु मृत्युदर उच्च रहेकाले विवरण संकलन पछि त्यसको नियन्त्रणका लागि प्रदेश सरकारले योजना बनाउने दैनिक नेपालगन्जसँगको कुराकानी बताएकी थिइन् ।
‘स्वास्थ्य मन्त्रालयले मातृ मृत्यु घटाउनका लागि फेमिली हेल्थ प्रोफाइल भनेर मेडिको मोबाइलबाट प्रोफाइलहरू तयार गर्ने र समयमै उनीहरूको समस्या पहिचान गरेर उपचार तर्फ अथवा समस्या समाधान तर्फ लाने खालको कार्यक्रम अघि बढाएको हो’, प्रदेश स्वास्थ्य सचिव श्रेष्ठले भनिन् ।

Exit mobile version