इस्लामिक धर्मावलम्बी, मुस्लिमका लागि जीवनमा एक पटक हज गर्नु अनिवार्य धार्मिक पाँच कार्य मध्ये एक हो । यसवर्ष बाँके जिल्लाबाट वर्ष हज गर्न साउदी अरेबियाको मक्का मदिनामा १५५ जना राजधानी काठमाडौं प्रस्थान गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले यस वर्ष बाँकेबाट हज गर्न जानेमध्ये ७६ जना महिला र ७९ जना पुरुष हजका लागि गएको जनाएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बाँके जिल्लाबाट यसपटक १५५ जना मुस्लिमले हज गर्ने अवसर पाएको जानकारी दिए ।
साउदी अरबको मक्कामदिना हज गर्न जाने बाँकेका हज यात्रीलाई विदाइ गर्न शनिवार नेपालगन्ज विमानस्थलमा निकै ठुलो भिड लागेको थियो । शुक्रवार बसमा जानेहरूलाई विदाइ गरिएको र शनिवार विमानस्थलमार्फत जानेहरूलाई विदाइ गरिएको मुस्लिम अगुवा, हाजी मोहम्मद सरिफ वागवानले बताए । विमानस्थलमै पुगेर हज यात्रीहरूलाई माल्यार्पण, दोसल्ला ओढाउने, गम्छा, टोपी र खादा लगाएर सम्मान सहित विदाइ गरिरहँदा निकै भावपूर्ण अवस्था देखिएको थियो भने व्यवस्थापनमा प्रहरीलाई हम्मे परेको थियो ।
विमानस्थल पुगेका सयौँ आफन्तजनका कारण विमानस्थलमा व्यवस्थापन कठिनाइ भएको हो । बिदाइको क्रममा लामो अंकमाल र भावुक क्षण देखिएको थियो। हज यात्रीहरूले आफन्तसँग भुलबस भएका गल्तीहरू भुलिदिन अपील गर्दै मन्त्रणा गरेका थिए ।
बाँके जिल्लाका हजयात्रीको काठमाडौँबाट जेठ ५ गते साउदी अरबका लागि हवाई उडान हुने भएकोले केन्द्रीय हज समितिले जेठ ३ गतेसम्म काठमाडौं पुग्न सबै हज यात्रीलाई अनुरोध गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
केन्द्रीय हज समितिका अनुसार, पहिलो चरणमा जेठ तीन गते शनिबार ५५ जना हज यात्री, एक जना दूतावासका प्रतिनिधि र दुई जना हज समितिका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउदी अरेबिया प्रस्थान गरेका छन् ।
दोस्रो चरणमा जेठ ४ गते आइतबार ११८ जना यात्रु, एक जना दुतावासका प्रतिनिधि र एक जना हज समिति सदस्य साउदी अबर जानेछन् । त्यसपछि जेठ ५, ६, ७ र ८ गते थप हाजीहरू साउदी अरेबिया जाने कार्यतालिका रहेको छ ।
समितिका अनुसार यस वर्ष देशभरबाट दुई हजारभन्दा बढीले हज यात्राका लागि आवेदन दिएकोमा एक हजार १७१ जनाले मात्र हजमा जाने अनुमति पाएका छन् । उनीहरू ११ चरणमा जेठ तीन गतेदेखिदेखि आठ गतेसम्म काठमाडौँबाट सिधै साउदीको जेद्दातर्फ जाने छन् । उनीहरू हज सम्पन्न गरेर असार ६ गते देखि ११ गते सम्म स्वदेश फर्किने छन् । यस वर्ष प्रति यात्री हज खर्च तीन लाख ७० हजार रुपियाँ लागेको हज समितिले जनाएको छ ।
त्यसअघि शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघ, गौरव स्मृति तथा बीयोर सेल्फ फाउण्डेशन लगायतले नेपालगन्जबाट हज गर्नका लागि जाने मुस्लिम धर्मावलम्बीलाई विभिन्न ठाउँमा सम्मान तथा बिदाई गरेका थिए । फाउण्डेशनले नेपालगन्ज–४ स्थित भोला चौकमा सम्मान तथा बिदाई गरेको थियो । मुस्लिम धर्मावलम्बीहरूले नेपालगन्जबाट पबित्र स्थान साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने यात्रीहरूलाई सम्मान तथा बिदाई कार्यक्रममा गौरव स्मृति तथा बीयोर सेल्फ फाउण्डेशनका संरक्षक प्रदीप शाहले धर्म गुरु भारतबाटका बेल्ग्राम शरीफका निवासी अनस मियाँलाई २० किलो फूलको माला लगाएर सम्मान गरेका थिए ।
सम्मान तथा बिदाई कार्यक्रममा चाँद खाँ, सत्तार खाँ, अतहर हुसैन फारुकी, मौलाना मन्सूर, मेराज अहमद हिमालय,रहिश हलवाई, जुनैद हलवाई, हाफिज सैहजाद गणेशपुर, गौरव स्मृति तथा बीयोर सेल्फ फाउण्डेशनका अध्यक्ष मधु शाह, उपाध्यक्ष करन साहू, सचिव सुखराम ठाकुर, सहसचिव पे्रमाशाही, कोषाध्यक्ष बिजय कोरी, सदस्यहरूमा अजय कोरी, मुन्शी हज्जाम, प्रधान सल्मानी, शिवम्शाह, प्रदिप कौलिक, शिवम गुप्ता लगातयको सहभागिता रहेको थियो ।