मोटरसाइकल चोरी गर्ने गिरोहविरुद्ध भारतीय प्रहरी

नेपालबाट मोटरसाइकल चोरी गरी भारतीय बजारमा बेच्ने, भारतका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरेर नेपालमा ल्याई बिक्री गर्ने गिरोह नै सक्रिय रहेको भन्दै अपरेशनमा जुटेको भारतीय प्रहरीले सीमावर्ती क्षेत्रका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना नेपाली युवा छन् ।

शनिबार साँझ चोरीको भारतीय मोटरसाइकल सहित नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ जमुनाह निवासी २० बर्षीय युवा अमिर सिंह र रूपैडिहा निवासी सभुम सोनी पक्राउ परेका हुन् । यसअघि पनि भारतीय प्रहरीले यसखालको गिरोहमा संलग्नताको आरोपमा दुई जना नेपालीलाई दर्जन बढी चोरीका मोटरसाइकल सहित पक्राउ गरेर कानुनी कारवाही प्रक्रिया अगाडि बढाइसकेको छ ।

‘मोटरसाइकल चोरी भएको १२ घण्टा भित्रै संलग्न व्यक्तिलाई रंगेहात पक्राउ गर्न सफल भएको’ बहराइच प्रहरीले आइतबार विज्ञप्ति जारी गरी जनाएको हो ।

बहराइच प्रहरीको रूपैडिहा थानाबाट खटिएको पाँच जना प्रहरीको विशेष टोलीले चोरीको मोटरसाइकल सहित दुई जनालाई पक्राउ गरेको त्यहाँबाट पत्रकार सन्तोष शुक्लले जानकारी दिएका छन् ।

Exit mobile version