राष्ट्रिय श्रम आयोग गठनको माग

ट्रेड युनियन सङ्गठनहरुले राष्ट्रिय श्रम आयोग गठन गर्न माग गरेका छन् ।

पेसागत महासङ्घ नेपालको ३१औँ स्थापना दिवसका अवसरमा आज आयोजित अन्तरक्रियामा ट्रेड युनियनका नेता एवं विज्ञले सरकारी तथा निजी क्षेत्रमा काम गर्ने श्रमिकको शोषण अन्त्य गर्न र कर्मचारीको सामाजिक सुरक्षाका लागि आयोग गठनको माग गरेका हुन् ।

महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालले सरकारी कार्यालय, विद्यालय, क्याम्पस, अस्पताल र संस्थानमा कार्यरत श्रमिकको हकहितका लागि आयोग गठनमा जोड दिँदै ट्रेड युनियन अधिकारी र ट्रेड युनियन सञ्चालनमा देखापरेका समस्या समाधान गर्न सकिने बताउनुभयो ।

अन्तरराष्ट्रिय श्रम सङ्गठनका प्रतिनिधि सोलोमन राजवंशीले हरेक श्रमिक कर्मचारीलाई आफूलाई मन परेको ट्रेड युनियनको सदस्य बन्न, ट्रेड युनियन गठन गर्न निषेध गर्न नहुने बताउँदै सबै श्रमिकको अधिकार संरक्षणका लागि ट्रेड युनियनसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्व न्यायाधीश तथा श्रम कानुनका विज्ञ पवनकुमार ओझाले श्रमिकका उपेक्षा गर्न नहुने बताउनुभयो । श्रमिकका हक अधिकारको लाग ट्रेड युनियन संवेदनशील हुनुपर्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) स्थायी समिति सदस्य हरिप्रसाद पराजुलीले सूचना प्रविधिको युगमा श्रमिकको व्यवस्थापनका लागि सही अभिलेख राख्नुपर्ने र श्रमिकका अधिकार संरक्षणमा सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

Exit mobile version