बाँके प्रहरीले ठूलो मात्रामा गाँजा र लागुऔषध हेरोइनसहित विभिन्न कारोबारीहरुलाई पक्राउ गरेको छ ।
बाँके प्रहरीका अनुसार, नेपालगन्जबाट एक क्वीन्टल बढी गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । ठूलो परिमाणमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाबाट खटिएको टोलीले रंगेहात उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुसँगको अनुसन्धानपछि प्रहरीले डुडुवाबाट थप १ सय ११ किलो ४०६ ग्राम गाँजा बरामद गरेको हो ।
नेपालगन्ज–२२ स्थित कान्तितालबाट सोमवारराती २ किलो ३५० ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको थियो ।
लागुऔषधको टोलीले नेपालगन्ज–१४ का १७ वर्षीय विनय सोनी, वडा नम्बर २२ का १६ वर्षीय आदर्श साहान र नेपालगन्ज–६ का २१ वर्षीय दिपेश चौरासियालाई कान्तितालबाट २ किलो ३५० ग्राम गाँजासहित पक्राउ गरेको थियो । प्रहरीका अनुसार, पक्राउ परेका उनीहरुसँग सोधपुछ गर्ने क्रममा उक्त गाँजा बिक्री गर्ने अर्कै व्यक्ति रहेको खुल्न आएको हो ।
अनुसन्धानका क्रममा, डुडुवा गाउँपालिका–४ का ५० वर्षीय भागिराम खटिकलाई तत्काल नियन्त्रणमा लिएको बाँके प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएका खटिकको घर खानतलासी गर्ने क्रममा प्रहरीले थप १ सय ११ किलो ४०६ ग्राम गाँजा बरामद गरेको हो ।
प्रहरीले उक्त परिमाणको गाँजासहित पक्राउ परेका चारै जनालाई हिरासतमा लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।
हेरोइनसहित पक्राउ
लागुऔषधविरुद्ध सक्रिय लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले नेपालगन्ज नाका नजिकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–११ का ३४ वर्षीय चन्द्र बहादुर गन्धर्व र सोही स्थानका २७ वर्षीय सौरभ टमाटा हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरुलाई नेपालगन्ज–१५ जमुनाहाबाट रुपैडिहादेखि नेपालगन्ज आउँदै गरेको अवस्थामा १ ग्राम ३३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जनाएको छ ।
त्यस्तै, बाँके प्रहरीले मंगलबार साँझ नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ बाट ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले ७० ग्राम ७२० मिलिग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जानकारी दिएका छन् ।
त्यस्तै नेपालगन्ज–१५ जमुनाहाबाट जुम्लाको चन्दननाथ नगरपालिका–१० का २१ वर्षीय आशिष न्यौपानेलाई प्रतिवन्धित औषधिसहित प्रहरीले पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले न्यौपानेलाई विभिन्न प्रतिवन्धित औषधिसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले ट्रामाडोल ५० ट्याबलेट र नाइट्रोभ्याट ७० ट्याबलेट गरी जम्मा १२० ट्याबलेटसहित पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।
बाँके प्रहरीले पक्राउ परेका व्यक्तिकाबारेमा अनुसन्धान भइरहेको जनाएको छ । नेपालको पहाडी जिल्लामा उत्पादन हुने गाजा नेपालगन्ज हुँदै भारत लैजाने गरिन्छ । भारतबाट ब्राउन सुगरलगायतका लागुऔषध नेपालगन्ज आउने गरेको छ । यसले नेपाली युवा निकै प्रभावित भइरहेका छन् ।