पानी सहित परेको ठूलो हावाहुरीले बुधबार नेपालगन्ज र आसपासका क्षेत्रमा विद्युत आपूर्ति अनियमित भएको छ । बुधबार मध्यान्ह केही ठाउँमा विद्यूत आंशिक आपूर्ति भएपनि सबै ठाउँमा सुचारु हुन सकेको छैन ।
कोहलपुरबाट नेपालगन्ज ल्याउन प्रयोग हुने ३२ केभि प्रशारण लाइनको मुख्य पोल ढल्दा नेपालगन्जको नेपाल भारत सीमा क्षेत्र, बसपार्क, हिरमिनिया, पुरैना, राप्तीपारीका क्षेत्रमा अझै विद्युत आपूर्ति नभएको नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाका प्रमुख जगन्नाथ लामिछानेले जानकारी दिएका छन् । उनले नेपालगन्जको बजार क्षेत्रका लागि अतिरिक्त विद्युत लाइनबाट विद्युत आपूर्ति भएको उल्लेख गर्दै कोहलपुरबाट पोल ल्याएर गाडने प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन् ।
अहिले सो प्रशारणलाइनको सर्किट नं ३ र ४ बाट विद्युत वितरण भएको जानकारी दिदै प्रमुख लामिछानेले दिनभरसम्ममा काम सकिए बेलुकासम्म विद्युत सुचारु हुने बताएका थिए । यद्यपि साँझसम्म विद्युत नियमित हुन सकेन । ‘कोहलपुरबाट नेपाल्गन्ज आउने ३३ के भि को टावको काम अहिले पानी परेकोले नसकिएको हुँदा भोलि ७ बजेबाट पुन सुरु हुनेछ । आज राती (बुधबार) र भोलि (बिहीबार) दिउँसो सम्म केही अनियमित हुन सक्ने ब्यहोरा अनुरोध छ’, नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज वितरण केन्द्रले बुधबार साँझ सूचना जारी गरी भनेको छ ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाका प्रमुख लामिछानेले हावाहुरीका कारण विहान दुई घण्टा नेपालगन्ज बजारमा विद्युत आपूर्ति बन्द भएको उल्लेख गर्दै हावाहुरीले कुन कुन ठाँउमा क्षति भएको भन्ने विवरण संकलन गर्न जनशक्ती परिचालन भएको जानकारी दिएका छन् ।