युवा पलायन ठूलो त्रास

आजको यथार्थ कति पीडादायक छ भने गाउँमा रहेका बुबा आमा औषधिको अभावमा तड्पिरहेका छन् तर उनीहरूका सन्तान विदेशमा अरूका बुबा आमाको सेवा गरिरहेका छन् । अमेरिका, अष्ट्रेलिया, बेलायत, इजरायलजस्ता देशमा केयरगिभर बनेर अर्काको जीवन बचाउने नेपाली युवाहरू आफ्नै आमा बिरामी हुँदा पनि औषधि गर्न सक्दैनन् ।

युवा वर्गको विदेश पलायन आज अभिशाप बनिरहेको छ । देशभित्र रोजगारीको अवसर नहुँदा राजनीतिक अस्थिरता र छिटो धन कमाउने चाहनाले गर्दा हजारौं नेपाली युवाहरू विदेशिन बाध्य छन् । उनीहरू बुढेसकालमा आफ्ना बाबुआमाको सहारा बन्नुपर्ने हो तर विदेशी भूमिमा श्रम बेचेर बस्न विवश छन् । फलत घरमा एक्लिएका बुबाआमाको जीवन दुःखद बनेको छ । आमाले त जीवनभर सन्तानको स्याहार गरिन् तर आफू बिरामी पर्दा छोरोको मुहार हेर्न तिर्खाएको मन लिएरै मृत्यु सैयामा जानुपरेको छ । यस्तो नियति कति दुःखदायी विदेशमा लाखौं कमाए पनि आमाको मुख हेर्न नपाइने स्थिति आउँछ भने त्यो कमाइको के अर्थ रह्यो र ? देशमै अवसर सिर्जना गर्न सकिएको भए युवाहरू आफ्ना घरआँगनमै रम्न
सक्थे ।

सरकार र समाज दुवैले सोच्न जरुरी छ आर्थिक समृद्धि मात्रै हैन मानवीय संवेदनाको ख्याल राख्ने नीति आवश्यक छ ताकि नेपाली बुबाआमा औषधिको अभावमा छटपटिन नपरोस् । नेपाल प्राकृतिक सम्पदाले भरिएको सांस्कृतिक विविधता बोकेको र ऐतिहासिक रूपमा गौरवपूर्ण राष्ट्र हो । यस्ता मुलुकहरूलाई समुन्नति तर्फ उन्मुख गराउने मूल शक्ति भनेकै यहाँका ऊर्जाशील जोशिला र सिर्जनशील युवाहरू नै हुन् । तर पछिल्लो दशकहरूमा देखिएको एउटा खतरनाक प्रवृत्ति भनेको युवाहरूको तीव्र गतिमा विदेश पलायन हुनु हो । उच्च शिक्षा, रोजगारी, सुरक्षित जीवनशैली वा उज्वल भविष्यको खोजीमा नेपाली युवाहरू ठूलो संख्यामा देश छाडिरहेका छन् । यो अवस्था केवल व्यक्तिगत निर्णय मात्र नभई राष्ट्रिय चिन्ताको विषय बन्न पुगेको छ । आज युवाहरूको पलायन केवल मानिसको सन्तान विदेश जानु होइन, देशको श्रम, प्रतिभा र सम्भावनाहरूको पलायन हो ।

युवाहरू किन देश छोड्न बाध्य छन् ? यसको उत्तर सजिलो छैन । यो सत्य हो कि देशभित्रै उनीहरूले आफ्नो सीप दक्षता र प्रतिभा प्रयोग गर्न सक्ने वातावरण छैन । शिक्षित युवाहरू उच्च शिक्षा प्राप्त गरेपछि रोजगारीको खोजीमा भौतारिन्छन् । योग्यता हुँदाहुँदै जागिर नपाउने अवस्था पारदर्शिता नभएको नियुक्ति प्रक्रिया पार्टीगत भागबण्डाले थिचिएको अवसर र भ्रष्टाचारको जालोले युवाहरूलाई निराश बनाएको छ । सरकारी जागिर सीमित छन् निजी क्षेत्रमा पनि स्थायित्वको ग्यारेन्टी छैन । यस्तो निराशाजनक स्थितिमा वैदेशिक रोजगारीलाई नै जीवनको समाधान ठानी युवाहरू विदेश गएका छ्न ।

शिक्षाको गुणस्तर पनि एक प्रमुख कारण हो । देशभित्रको शिक्षाले केवल प्रमाणपत्र दिन्छ सीप दिन सक्दैन । प्रयोगात्मक ज्ञानको अभाव पुस्तककेन्द्रित पठनपाठन पाठ्यक्रमको पुनरावलोकन नहुनु र अत्याधुनिक प्रविधिको पहुँच नहुनाले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सक्दैन । फलस्वरूप धेरै युवाहरू स्नातक वा स्नातकोत्तर अध्ययनका लागि विदेश जान चाहन्छन् । उनीहरू त्यहाँ गई अध्ययन मात्र गर्दैनन् अन्तत बिदेश मै काम खोज्ने पिआर बनाउने त्यतै पलायन हुने गर्छन्  ।

राजनीतिक अस्थिरता र नेताहरूको स्वार्थप्रेरित नेतृत्व शैलीले पनि युवाहरूमा देशप्रतिको भरोसा घटाएको छ । वर्षौँदेखि नयाँ नेपाल स्थायी शान्ति समृद्धिजस्ता नाराहरू घन्किरहेका छन् तर युवा पुस्ताले प्रत्यक्ष अनुभूति गर्न सकेका छैनन् । हरेक सरकार युवाहरूका नाममा कार्यक्रम ल्याउने गर्छ तर कार्यान्वयनमा कमजोरी देखिन्छ । काम गर्न सक्ने इच्छाशक्ति भएका युवाहरू प्रणालीसँग निराश भएर देश छोड्न चाहन्छन् ।

देशभित्र स्वरोजगारको सम्भावना पनि निकै कम छ । उधोग कल कारखाना पनि खुलेका छैनन । व्यवसाय सुरु गर्न चाहने युवालाई लगानीको अभाव बैंकले सहुलियतपूर्ण ऋण नदिने अनुमति प्रक्रियाको झन्झट कर प्रणालीको जटिलता जस्ता समस्याले थिचेका छन् । आफ्नो माटोमा केही गर्ने सपना बोकेका युवाहरू पनि जब बाधाहरूको सामना गर्छन् तब उनीहरूले वैकल्पिक बाटो रोज्छन् त्यो एक मात्र्व हो विदेश ।

युवा पलायनको असर केवल व्यक्तिगत या पारिवारिक स्तरमा सीमित छैन यसले राष्ट्रलाई गम्भीर संकटमा पार्छ । जब देशका सबैभन्दा ऊर्जावान सिर्जनशील र उत्पादक जनशक्ति बाहिरिन्छन् तब मुलुकको समग्र विकासमा असर पर्छ । उद्योग कृषि पर्यटन प्रविधि शिक्षा स्वास्थ्यजस्ता क्षेत्रमा दक्ष जनशक्तिको अभाव
हुन्छ । त्यसैले आज नेपाली उद्योगहरूमा पनि विदेशी श्रमिकहरू काम गरिरहेका देखिन्छन् किनभने हाम्रा आफ्नै युवाहरू खाडी मलेशिया कोरिया वा युरोपतिर छन् ।
युवाहरूको अभावले मुलुकको नीति निर्माण नेतृत्व विकास र सामाजिक परिवर्तनमा पनि असर गर्छ । जब देशभित्र सशक्त युवा नेतृत्व हुँदैन तब परिवर्तनको गति सुस्त हुन्छ । शिक्षित र सचेत युवाहरू विदेश पुगेपछि तिनको विचार नेतृत्व र सक्रियता पनि त्यहीँ सीमित हुन्छ । यस्तो अवस्थामा देशभित्र दला असक्षम र भ्रष्ट प्रवृत्ति झन् बलियो हुँदै जान्छ जो अहिले प्रत्येक्ष नेपालमा देख्न भोग्न मिलिरहेको छ ।

देशलाई आर्थिक रूपमा पनि ठूलो घाटा हुन्छ । विदेश जाने युवाले परिवारको सम्पत्ति खर्च गर्छन् ऋण लिन्छन् र सुरुका केही वर्ष ऋण तिर्नमै बित्छ । रेमिट्यान्सको नाममा देशले वैदेशिक मुद्रामा आम्दानी त पाउँछ, तर त्यो अस्थायी मात्र हो । त्यसको सट्टामा मुलुकले दीर्घकालीन विकास गर्ने अवसर गुमाउँछ । यदि यही श्रम समय र दक्षता देशभित्र प्रयोग भएको भए नेपाल आजको भन्दा धेरै अघि बढिसकेको हुन्थ्यो ।

युवा पलायनले सामाजिक समस्याहरू पनि निम्त्याउँछ । धेरै घरमा बाबु आमाबिना बच्चाहरू हुर्किरहेका छन् श्रीमान् विदेश र श्रीमती एक्लै वा उल्टो यसले पारिवारिक सम्बन्धमा दूरी सिर्जना गर्छ । सामाजिक संरचना कमजोर हुँदै जान्छ बुढेसकालमा अभिभावक एक्ला हुने र वृद्धाश्रमतिर धकेलिने अवस्था देखिन थालेको छ ।
अबको आवश्यकता भनेको देशमै युवालाई अवसर दिने उनीहरूलाई राष्ट्रनिर्माणमा संलग्न गराउने र उनीहरूको आशा तथा सपनाहरूलाई यहीँ साकार पार्ने वातावरण सिर्जना गर्नु हो । सरकारले शिक्षाको गुणस्तरमा सुधार ल्याउनुपर्छ रोजगारी सिर्जना गर्नुपर्नेछ र स्वरोजगारको लागि नीति तथा कार्यक्रमहरू प्रभावकारी बनाउनुपर्नेछ । प्रविधि कृषि पर्यटन लघु उद्यम हरित अर्थतन्त्र जस्ता क्षेत्रमा लगानी गरेर युवालाई आकर्षित गर्न सकिन्छ । बैंकहरूले स्टार्टअपका लागि सहज ऋण दिनुपर्ने कर प्रणाली सरल बनाइनुपर्ने र सरकारी सेवामा निष्पक्षता ल्याइनुपर्नेछ । विदेश जान चाहने युवालाई पनि सरकारको ध्यान पु¥याउनुपर्छ । उनीहरूलाई वैदेशिक रोजगारमा पठाउँदा उचित सुरक्षा दक्षता प्रशिक्षण र श्रम अधिकार सुनिश्चित गर्नुपर्छ । साथै विदेश गएका युवालाई फर्कन प्रेरित गर्न ब्रेन गेन कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । फर्किएका युवाहरूको अनुभव र सीपलाई राष्ट्र निर्माणमा प्रयोग गर्ने उपाय खोजिनुपर्छ सरकारले खुलेर आफ्नो जिम्मेवारी पूरा गर्नु पर्छ ।
युवा पलायन केवल त्रासमात्र होइन एक चेतावनी पनि हो यदि हामीले तत्काल सुधार नगरेमा हाम्रो भविष्य संकटमा पर्न सक्छ । देश बनाउन सबैको भूमिका हुन्छ तर युवा पुस्ता बिना त्यो असम्भव छ । त्यसैले अबको नेपालको प्राथमिकता भनेकै युवालाई देशमै रोजगारी शिक्षा सम्मान र सम्भावनाको वातावरण दिनु हो । यति गर्न सक्यौं भने मात्र हामी समृद्ध नेपाल सुखी नेपाली को सपना साकार गर्न सक्छौं । जय युवा

Exit mobile version