घरेलुमा खनालले सम्हाले कार्यभार

नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगरपालिका समितिमा निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । गत वैशाख ५ गते भएको निर्वाचनमा निर्वाचित अध्यक्ष विष्णु खनाल नेतृत्वको नगर समितिले पदभार ग्रहण गर्दै जिम्मेवारी कार्यसम्पादन थालेको हो ।

त्यसक्रममा नेपालगन्जका उद्यमी, व्यवसायिका समस्याबारे सरोकारवालाहरू बीच अन्तरक्रिया गरिएको छ । पदभार ग्रहण कार्यक्रम सँगै ‘विद्यमान अर्थतन्त्र र उद्यमी व्यवसायिका समस्या’ विषयक अन्तरक्रियामा सहभागी वक्ताहरूले पछिल्लो आर्थिक अवस्था र गतिविधिलाई लिएर चिन्ता व्यक्त गरे । त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक कुल पाण्डेले पछिल्लो आर्थिक अवस्थाबारे आफ्नो प्रस्तुति गर्दै राज्यको शासन सूचकहरू, भ्रष्टाचार नियन्त्रणको अवस्था, कानुनी शासनको आवश्यकता, सरकारी प्रभावकारिता र ाजनीतिक स्थिरतामा दक्षिण एशियाली मुुलुकसँगै नेपालको तथ्यगत अवस्था प्रकाश पारे । उनले राज्यको कर नीति नै गलत रहेका कारण उद्योगी, व्यवसायीहरू मारमा परेको औंल्याउँदै आ–आफ्नो तहबाट सुधारका लागि दबाबमूलक आवाज उठाउनु पर्ने धारणा राखे ।

महासंघका नगर अध्यक्ष विष्णु खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य जीवनाथ सापकोटा, घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख कृष्ण बहादुर विष्ट, महिला उद्यमी समितिका अध्यक्ष मिना डाँगी, महासंघका निवर्तमान अध्यक्ष डिला शाह लगायतले आफ्ना धारणा राखेका थिए । उनीहरुले अर्थतन्त्र सुधारका लागि सरकारको हस्तक्षेपकारी भूमिका अपेक्षित रहेको बताए ।

सोही कार्यक्रममा निर्वाचन समितिका संयोजक दिपक भण्डारी, मुख्य निर्वाचन अधिकृत अधिवक्ता विकास आचार्य लगायतले नवनिर्वाचित नगर समितिका अध्यक्ष खनाल सहित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए ।

Exit mobile version