मालपोतका खरिदार सहित तीन अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे सहित तीन जनालाई आज नियन्त्रणमा लिएको छ ।

कार्यालयका सूचना अधिकारी झलक केसीले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायीमार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज खरिदार पाण्डेलाई सेवाग्राहीसँग रु.२०,००० घुस लिई तिवारी रेष्टुरेण्ट सञ्चालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निज पाण्डे, लेखापढी व्यवसायी शान्ती पुन र घनश्याम तिवारीलाई जिल्लाको कोहलपुर नगरपालिका वडा नं ११ स्थित तिवारी रेष्टुरेण्टबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ ।

Exit mobile version