नेपाल जडिबुटी व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष टंक प्रसाद शर्माले संघले जडिबुटी खेतीलाई प्राथमिकतामा राखेर अभियान चलाउने बताएका छन् ।
आइतबार आगामी कार्यकालका लागि अध्यक्ष निर्वाचित भएपछि दैनिक नेपालगन्जसँग कुरा गर्दै अध्यक्ष शर्माले भने, ‘जडिबुटी बचाउने एउटै उपाय भनेको खेती र संरक्षित संकलन हो ।’ जडिबुटी व्यवसायी संघले जडिबुटी खेतीका लागि गाउँगाउँमा प्रचार र प्रोत्साहनको नीति लिने योजना सुनाउँदै अध्यक्ष शर्माले त्यसका लागि सामुदायिक वन सँग साझेदारी र सहकार्यको मोडेल तय हुने बताए ।
‘तीन तहकै सरकारले यसका लागि सहयोग गर्नुपर्छ’, अध्यक्ष शर्माले हिमाली क्षेत्रमा जडिबुटीको संरक्षित संकलन गरी त्यसको भविष्य सुरक्षित राखिनुपर्ने र त्यसका लागि सरकारी नियमन आवश्यक रहेको औंल्याउँदै भने, ‘जटामसी जस्ता महत्वपूर्ण जडिबुटीको संरक्षणमा उच्च सतर्कता आवश्यक छ ।’
मध्य पहाडी क्षेत्रमा टिमुर, रिठा, दालचिनी चिराइतो, तेजपात जस्ता जडिबुटीको खेती गर्न सकिने र त्यसले आयात विस्थापनमा भूमिका खेल्न सक्ने जडिबुटी व्यवसायी संघको धारणा छ । ‘हर्रो, बर्रो, अमला, केमोमाइल जस्ता जडिबुटीको खेती तराईमा गर्न सकिन्छ’, जडिबुटी व्यवसायी संघले त्यसका लागि आवश्यक सहयोग र सहजीकरणसँगै व्यवसायिकरण गर्ने बताउँदै अध्यक्ष शर्माले भने, ‘वन खाली भए अब जडिबुटी खेती गरौं ।’
सरकारी नीति र उदासिनताले नेपालमा आयात विस्थापनको महत्वपूर्ण जडिबुटी व्यवसाय धराशयी हुँदै गएको भन्दै व्यवसायिक क्षेत्रबाट आलोचना भैरहँदा व्यवसायीहरूको छाता संस्था, नेपाल जडिबुटी व्यवसायी संघले परम्परागत र लोपोन्मुख जडिबुटीको संरक्षित संकलन सँगै अन्य जडिबुटीहरूको खेतीलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने योजना बनाएको हो ।